विपक्षीहरु सडकमा कराउँदैमा सरकार छाड्दैनौ : शेरचन

(पर्वत), माघ ११ - एमाओवादीका नेता अमिक शेरचनले विपक्षी दलहरु सडकमा कराउँदैमा एमाओवादीले सजिलै सरकार नछाड्ने बताएका छन् ।
एमाओवादी पर्वतको दोस्रो जिल्ला अधिवेशनलाई हिजो सदरमुकाम कुश्माबजारमा सम्बोधन गर्दै नेता शेरचनले सत्ता प्राप्तिकै निम्ति सडकमा ओर्लनुको कुनै अर्थ नभएको बताए ।
सत्ताभन्दा बाहिर रहेका शक्तिहरुको असहयोगका कारण सरकारले पर्याप्त उपलब्धि हासिल गर्न नसकेको बताउँदै उनले सहमतिका लागि आवश्यक विषयसूची लिएर आउन चुनौती समेत दिए ।

उनले एमाओवादीवाट फुटेर गएको वैद्य पक्षलाई पुनः पार्टीमै फर्किएर वैचारिक संघर्ष गर्न पनि आग्रह गरे ।
एमाओवादीका पश्चिम ब्यूरो इन्चार्ज लिलामणी पोखरेलले अर्काको घर भत्काएर आफ्नो घर ठूलो बनाउन खोज्ने प्रवृत्ति विपक्षी दलहरुले देखाउन खोजेको आरोप लगाए ।
नेता पोखरेलले नयाँ निर्वाचन, सत्यनिरुपण तथा मेलमिलाप आयोग गठन, विघटित संविधानसभामा भएका सहमति तथा असहमतिका विषयलाई लिएर जनतासँग जानेलगायत विषयमा प्याकेजमै सहमति हुनुपर्नेमा पनि जोड दिए ।
कार्यक्रममा एमाओवादीका पोलिटव्यूरो सदस्य लोकेन्द्र विष्ट, तमुवान राज्यसमिति संयोजक डिलाराम आचार्य, एमाओवादी तमुवान राज्यसमिति सम्मेलन आयोजक समिति सदस्य तथा शहिद परिवारका तर्फवाट मनरुपा सुवेदी, नेपाली कांग्रेसका पर्वत जिल्ला सभापति लालकाजी गुरुङ, एमालेका जिल्ला अध्यक्ष विकास लम्साल, नेकपा-माओवादीका हरि पौडेल सुन्दरलगायतले बोल्नुभएको थियो। सम्मेलन दुई दिन चल्नेछ। रासस


तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......