मेरो भाषा खिचडीजस्तो भयोः राष्ट्रपति यादव

१७ पुस, काठमाडौं । राष्ट्रपति डा. रामवरणले आफ्नो भाषा खिचडीजस्तो बनेको बताउनुभएको छ । मातृभाषा मैथिली र सम्पर्क भाषा नेपाली भएका राष्ट्रपति यादवको भनाइ छ-’म घरमा प्रायः मैथिली बोल्छु, बंगालीलाई भेट्दा बंगाली बोल्छु, विदेशीसँग भेट्दा अंग्रेजीमा बोल्नुपर्छ । घरबाहिर नेपाली बोल्छु । त्यसैले मेरो भाषा खिचडीजस्तो भएको छ । मैथिली बोल्दा पनि शुद्ध नबोलिएला भन्ने लाग्छ ।’

भारत भ्रमणका बेला पुस १३ गते शुक्रबार दिल्लीमा आयोजित अन्तरराष्ट्रिय

मैथिली नाट्य महोत्सवमा भाषण गर्ने क्रममा डा. यादवले आफ्नो भाषा खिचडीजस्तो भएको गुनासो पोख्नुभएको हो । थोरै मैथिली र धेरै नेपालीमा बोल्नुभएका राष्ट्रपतिले वीचवीचमा अंग्रेजीसमेत घुसाउनुभएको थियो ।

राष्ट्रपति यादवलाई दिल्लीमा मैथिली भाषाको नाटक देखाउन जनकपुरबाट २१ जनाको कलाकार टोली भोकै र तिर्खै रेलको बाटोबाट दिल्ली पुगेको थियो । तर, राष्ट्रपति यादवले कार्यक्रममा भन्नुभयो- ‘जनकपुरको नाटक रहेछ, म उतै हेरौंला ।’

कुनै पनि कार्यक्रममा बोल्न थालेपछि मनका कुरा खुलस्थ पार्ने प्रष्ट वक्ता यादवले आफू खासमा बनारस आएको तर, राष्ट्रप्रमुख भएकाले सोहीक्रममा दिल्ली आउनुपरेको र नेताहरुसित भेटघाट गरिएको बताउनुभएको थियो । राष्ट्रपतिले नेपाल-भारतवीचको सम्बन्धबारे चर्चा गर्दै गंगाको पानीको ठूलो अंश नेपालीको पनि भएको बताउनुभयो । त्यसैगरी गौतम बुद्धले नेपालमा जन्मेर भारतको गयामा ज्ञान प्राप्त गरेको र जनकपुरमा जन्मेकी सीताले भारतका रामसँग विवाह गरेको राष्ट्रपतिले बताउनुभएको थियो ।

कार्यक्रममा दिल्लीस्थित नेपाली दुताबासका कर्मचारी पनि सहभागी थिए । केही नेपाली कलाकारलाई प्रवेश पास नभएको भन्दै निकैबेर प्रहरीले गेटमा रोकेर भित्र प्रवेश गर्न नदिएको गुनासो पनि नेपाली कलाकारले गरेका छन् । राष्ट्रपति यादवले नेपाली टोलीको नाटक नहेरे पनि महोत्सवमा मञ्चित ७ नाटकमध्ये नेपाली टोलीको नाटकलाई भारतीयहरुले रुचाएको दाबी कलाकारले गरेका छन् ।

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......