साउदीमा नेपाली कामदारहरू समस्यामाः समय छंदै बिचार पुर्याऊं

धरम के.सी.
साउदी अरब । गतः साल लिबियामा गृहयुद्ध हुंदा त्यहां रहेका अति थोरै नेपाली कामदारहरूलाई पनि उद्धार गर्न हम्मे हम्मे परेको थियो । एसओएस लगायतका म्यानपावर कम्पनीहरूले र नेपाल सरकारले पनि कामदारहरूबाटै संकलित प्रबर्द्धन शुल्कको प्रयोग गर्दै करोडौं खर्चिनुपर्यो उद्धार, स्वदेशफिर्ती र क्षतिपूर्तिका
लागि । साउदीमा त्यस्तो युद्धको स्थिती होइन तर यहां लागु गरिएको साउदीकरण (निताकत)ले एक किसिमको शितयुद्धकै जस्तो सन्त्रास र मन्दबिष फैलिदो छ, कतिपय नेपाली कामदारहरूको मनमा । निताकतकै कारण करीब ३० प्रतिशत रोजगारदाता कम्पनीहरू प्रभावित बनी बन्दै हुने अनुमान छ साउदीमा । दिनप्रतिदिन कसिदै, गहिरिंदै र गम्भीर बन्दै गएका यस नीति नियमहरूका कारण साउदीमा कार्यरत बिदेशी कामदारहरू र तिनका रोजगारदाता कम्पनीहरू थप समस्यामा पर्दैछन ।
गतः हप्तामात्रै साउदी कामदारहरूका लागि न्युनतम तलब ३ हजार साउदी रियाल तोकिए पछि र त्यस अघि बिदेशी कामदारहरूको शुल्क अत्यधिक बृद्धी गर्दै बार्षिक १ सय रियालबाट २ हजार ५ सय रियाल बनाएपछि अब प्रायः सबै रोजगारदाता कम्पनीहरूमा ठूलै ब्ययभार थपिने निश्चित छ । यस अघि धेरैजसो कम्पनीहरूले तोकिएको साउदी कामदारहरूको प्रतिशत पुर्याउन १,००० देखि १,५०० रियाल तलब दिएर साउदी कामदार देखाउंदै आएका थिए तर अब १,५०० भन्दा कम तलब दिएको पाइएमा त्यस्ता (साउदी) कामदारहरूको गणना नहुने र १,५०० दिएमा आधा मात्र (२ कामदार बराबार १) गणना हुने जनाइएको छ ।
यस्तै अप्ठ्याराहरूका कारण नै साउदीकरण (साउदी प्रतिशत पुर्याएको) प्रमाणपत्र नपाउंदा नै चल्दै आएका कम्पनीहरू पनि कोही पहेंलो त कोही रातोमा पर्ने हुन । तर यी कम्पनीहरूलाई पनि आफ्नो श्रेणी सुधारी हरियोमा आउन या कम्पनी बन्दगरी कामदारहरूलाई सकुशल बिदा गर्न सरकारले केही समय दिएको हुन्छ । हो, यही समय हो, कामदारहरूले पनि सोंच बिचार पुर्याउनुपर्ने । कम्पनीले नियमित दिंदै आएको तलब नदिएमा या ढिला गरेमा कम्पनीको स्थिती खराब भएको संकेत हुनसक्छ । प्रत्येक कामदारहरूले आंफु कार्यरत कम्पनी कुन कलर कोड (श्रेणी)मा छ भनी यो साइटमा चेक गर्न सक्दछन । यसको दोस्रो बक्समा आफ्नो इकामा नम्बर राखेर तलको पहिलो बटन (दायांबाट) मा क्लिक गरेपछि त्यो कलर कोड आंफै देखिन्छ । यही अबधिमा कामदारहरूले हरियो या निलो श्रेणीको कम्पनीमा बैकल्पिक रोजगार खोज्न पनि सक्दछन । तर यो सिमित अवधिमा पनि कम्पनी सुध्रेन, अर्को कम्पनीमा जान पनि सकिएन र स्वदेश फर्किन पनि पाइएन भने कामदारहरू ठूलो समस्यामा पर्ने निश्चित हुन्छ । साउदी अरबमा झण्डै १ लाखकै हाराहारीमा भगौडा कामदारहरू र करीब ५० हजार जति घरेलु महिला कामदारहरूलाई सकुशल स्वदेश फर्काउनु आंफैमा ठूलो चुनौति रहेको छ ।
तर बिडम्बना, यी समस्याहरूको यथार्थ, सही र सामयिक आकलन हुनसकिरहेको छैन । नेपाली दूतावासलाई नियमित उद्धार गर्ननै भ्याइनभ्यार्इ छ, म्यानपावर ब्यवसायीहरू नयां नयां भिषाहरू खोजी गर्नमै मात्र ब्यस्त छन । सामाजिक संघ संस्थाहरूको पनि यतातिर खासै ध्यान पुगेको पाइदैन । यस्ता लेबरहरूको समस्यामा कलम चलाउने लेखक र सञ्चारकर्मीको साउदीमा कमि छ । पीडित कामदारहरू पनि कसले सघाउन सक्छ भन्ने विषयमा अन्यौलमा छन् ।
केही हप्ता अघि मात्रै साउदी अरबको अब्भा शहरमा कार्यरत खुम बहादुर नेपाली साउदीबाट उडेर नेपाल पुग्न नपाउंदै दुबईमा (जहाजभित्रै) दिवंगत हुन पुगे । उनी आएको ३ महिनाभित्रै पक्षाघात जस्तो बिरामी बनेका थिए र उपचार पाउन सकिरहेका थिएनन । स्वदेश फर्किनका लागि पनि म्यानपावर कम्पनीले उनको परिवारबाट थप ४० हजार मागेको छ ।
यस्तै साउदी अरबको जेजान शहरमा रहेकी नेपाली महिला गंगा बराल बिरामी अवस्थामा छटपटाइरहेको एक महिना भैसक्यो । हरेक पटक फोनमा शुरूमै “सर म त मर्नै आंटे” भन्ने आवाज सुनिन्छ उनको । साउदी मालिक / मालिक्नीले कुनैपनि बेला उनलाई फोन सम्पर्कबाट बञ्चित गर्न सक्छन र अरू नै घर (ठाउं)मा पुर्याइदिन पनि सक्छन ।
अहिलेसम्म सबैतिरबाट पीडित कामदारहरूले केवल आश्वासन मात्र पाएका छन । केहि पीडित कामदारहरूले चरम निराशामा पिल्सिदै “आत्मह्त्या” सम्मको मनस्थिती बनाएको सुन्दा बुझ्दा साह्रै चिन्ता लाग्छ तर पनि….। बलिदान फिल्ममा “गाउं गाउंबाट उठ” गितमा भनिए झैं “हातमा कलम हुनेहरू कलम लिएर उठ” भने झैं आंफूं कलमजिबी नै भएकोले समस्यालार्इ जोडतोडका साथ उठाउनु जरूरी छ ।  यस्तो बेलामा कानूनी दायित्व नरहेता पनि अलिकति पनि सेवाभावना हुने म्यानपावर ब्यवसायी (कम्पनी)हरूले पनि आफ्नो नैतिक, ब्यवसायिक र सामाजिक दायित्व सम्झिदै, उद्धारका लागि केही पहल, केही भूमिका निभाउनुपर्ने हो । लिबियामा नेपाली कामदारहरूको उद्धार गरिरहंदा एसओएसको पनि खाली कानूनी दायित्व मात्र थिएन । तर साउदीमा यो पनि बिडम्बना नै भनौं कि १० जना मात्र पीडित कामदारहरूको टिकट काट्दा खर्च हुने ८-१० हजार साउदी रियालले यहां १० वटा सामाजिक संस्थालाई १-१ हजार चन्दा दिएर दशौं बर्षसम्म खुशी पार्न सकिन्छ र समाजसेवीका १०औं प्रमाणपत्रहरू पनि बटुल्न (किन्न) सकिन्छ । चरम नाफाको यस्तो सूत्र फेला पारेपछि खासै प्रचार नहुने पीडितको उद्धार र सेवा कसले किन पो गर्थ्ये र ?

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......