महानगरीय प्रहरी परिसर भत्कपुरका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक पुष्कर केसीले बिहान कलेजको समयमा कलेज पोसाकमा विद्यार्थी सार्वजनिकस्थलमा जोडीका रूपमा भेटिए र यौनजन्य गतिविधि गरेको पाइएमा तुरुन्त पक्राउ गरी कारबाही गर्ने बताए।
उनले भने, "घरबाट विद्यालय तथा कलेज जाने भनेर पोसाक लगाएर हिँड्ने तर सार्वजनिकस्थल बसेर अश्लिलता फैलाउनेलाई नियन्त्रमा लिइन्छ र कारबाही गरिन्छ, यो अभियान जिल्लाभरी सुरु गरिएको छ।"
भत्कपुरका सार्वजनिकस्थलमा मात्र नभई विद्यालय, कलेजको समयमा विद्यार्थीहरु यदि पोसाकमै सिनेमा हल, होटल, गेस्ट हाउस तथा रेस्टुरामा भेटिए प्रहरीले नियन्त्रणमा लिने जनाएको छ।
भत्कपुरको ऐतिहासिक सिद्धपोखरीमा विद्यार्थी कलेज पोसाकमा बिहानै जोडीमा आउने र समाजलाई अपच हुने खालका यौनजन्य क्रियाकलाप हुने हुँदा स्थानीय बासिन्दालाई समेत असर पर्ने गरेको स्थानीय लक्ष्मी कोजुले बताए।
कलेजको पोसाकमा विद्यार्थी सार्वजनिकस्थलमा भेटिए पक्राउ गरी भविष्यमा यस्तो गतिविधि नगर्न सचेत गराई सुरुमा अभिभावक बोलाएर छोड्ने र पटकपटक फेला परेमा सार्वजनिक ऐनअन्तर्गत कारबाही गरिने प्रवक्ता केसी बताए।
भत्कपुरमा यस्ता गतिविधि हुने स्थानहरुमा सिद्धीपोखरी, कमलपोखरी, च्यामासिंहको ब्रम्हायनी मन्दिर परिसर, सूर्यविनायक गणेश मन्दिर परिसर, दरबार स्क्वायर क्षेत्र, चाँगुनारायण मन्दिर परिसर, कमलबिनायकको टाउन प्लानिङ र सल्लाघारीको च्वङ्गा गणेश क्षेत्र पर्छन्। रासस
