कफीखेतीले पित्लेक गाउँको मुहार फेरिँदै

१ माघ, स्याङ्जा । स्याङ्जाको जगतभञ्ज्याङ गाविस-२ पित्लेक गाउँको व्यावसायिक कफीखेतीले मुहारै फेरिदिएको छ । नेपाल सरकार तथा नेपाल उद्योग वाणिज्य महासङ्घको साझेदारीमा सञ्चालित ‘एक गाउँ एक उत्पादन’ कार्यक्रमअनुसार स्याङ्जाको वालिङ उद्योग वाणिज्य सङ्घको साझेदारीमा पित्लेक गाउँमा व्यावसायिक कफीखेती गरिएपछि गाउँको मुहारै फेरिएको हो ।

टमाटर, बेमौसमी तरकारी तथा फलफूल उत्पादन गरेर कृषिमा जिल्लाकै उत्कृष्टता हासिल गरेको जगतभञ्ज्याङ-२ को पित्लेक, पाँडेथोक र आरुपाटा गाउँमा अहिले कफीखेतीबाट पनि चम्किन थालेको वालिङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष पुण्यप्रसाद अर्यालले बताउनुभयो । गाउँमा आर्थिक वर्ष ०६६/०६७ देखि कृषि मन्त्रालय र नेपाल उद्योग वाणिज्य महासङ्घको ‘एक गाउँ एक उत्पादन’ कार्यक्रमअन्तर्गत जिल्लाको जगतभञ्ज्याङ गाविसको पित्लेक अर्गानिक कफी उत्पादनमा छनौटमा परेर कार्यक्रम सुरु भएको हो ।
“कफीखेतीका लागि कम्तीमा समुद्री सतहबाट एक हजार २०० मिटरको उचाइ आवश्यक हुन्छ”, एक गाउँ एक उत्पादन छनौट गर्नेताका अध्यक्ष रहनुभएको वालिङ उद्योग वाणिज्य सङ्घका निवर्तमान अध्यक्ष ले.यामबहादुर गुरुङले भन्नुभयो, “भौगोलिक रुपमा पनि कफीका लागि समग्र स्याङ्जा जिल्ला नै उपयोगी देखियो, त्यसैमाथि पित्लेकमा व्यावसायिक खेतीका लागि मिलेको पाखो पाइयो र छनौटमा पारिएको हो ।”
वर्तमान अध्यक्ष पुण्यप्रसाद अर्यालका अनुसार वाणिज्य सङ्घले जगतभञ्ज्याङका पित्लेक, पाँडेथोक र आरुपाटा क्षेत्रमा अरबिका जातको १८ हजार कफीका बिरुवा रोपिएको छ । अर्यालले भन्नुभयो, “पित्लेक गाउँमा कफीको नर्सरी नै बनाएर त्यस वरिपरिका गाविसमा विस्तार गर्नका लागि तयारी सुरु गरिएको छ ।”
गाउँमा कफीखेती लगाउन थालिएपछि कफी हेर्नका लागि आउँनेहरुको भीड नै लाग्ने गरेको स्थानीय कृषक हुमनारायण लामिछानेले बताउनुभयो । गाउँको उर्वरामय जमिनमा भन्दा पनि पाखो र खेर गएको जमिन र जङ्गलको बीचबीचमा बिरुवा रोपिएकाले पनि आफूहरुलाई अन्य व्यावसायिक तरकारीखेती गर्न कफीखेतीले कुनै बाधा नपुर्‍याएको कृषक लामिछानेले बताउनुभयो ।रासस

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......