द्वन्द्वले कोरेको कंगो अनुहार

सुरेन्द्र पौडेल, बेनी (कंगो), माघ १३ - 'म वीरबहादुर तामाङ,' द्वन्द्वग्रस्त मध्यअफ्रिकी राष्ट्र कंगोको बेनीमा भेटिएका निख्खर कालो वर्णका अधवैंशेले आफू नेपाली भएको दाबी गरे। नेपाली भाषामै कुरा गरिरहेका उनको हुलिया नेपालीसँग कत्ति नमिल्ने। खोजीनिति बढाएपछि उनले थपे, 'घर बाह्रबीसे।' 
हामीले सोध्यौं, 'बाह्रबिसे कुन जिल्लामा पर्छ?'
'त्यो त थाहा छैन,' उनी मुस्काए।
नभन्दै, उनी नेपाली होइन रहेछन्। द्वन्द्वले निम्त्याएको परिस्थिति र भोको पेटले नेपाली सिक्न बाध्य बनायो, नेपाली जानेकै कारण उनले आफू र परिवारको भोक मेटाउँदै

आएका छन्।
'मेरो नाम मिन्डो आतेला,' बल्ल उनले वास्तविक (कंगोली) परिचय खुलाए, 'घर बुइकेनी।'
उनलाई नेपालका रमणीय स्थलहरूको नाउँ कण्ठ छ। 'इलाम जानुभएको छ?' उनी सोधिहाल्छन्। 'छैन' भन्ने जवाफ आए इलामको चिया बगानको बेलिविस्तार लाउन पछि पर्दैनन्। सबै अर्काले भनेको सुनेका भरमा।
'नेपाल जान मन लाग्दैन?'
'लाग्छ, तर राहदानीमा समस्या छ, बन्दैन,' उनले भने।
बेनीमा शान्ति स्थापनार्थ खटिएको नेपाली सेनाको मुख्यालयमा उनी दिनको दुईपटक पुग्छन्। सेनाको मेसमा बढी भएको खाना भेटे लिएर घर फर्कन्छन्। बदलामा एमसी (भाँडा मस्काउने-चम्काउने)। यही नै उनको रोजगारी हो। बेनीका भाग्यमानी ठान्छन् उनी आफूलाई। नत्र कहाँ चामलको भात देख्न पाउनू!
नेपाली असाध्यै मिलनसार भएको आतेला बताउँछन्। नेपाली सेनाको उपस्थितिपछि बेनीमा पहिलेभन्दा निकै शान्ति छाएको विश्वास उनको छ। 'नेपाली सेना आएपछि यहाँ धेरै काम भएको छ,' उनले भने, 'अहिले धेरै राम्रो भएको छ।'
....
सन् २००३ मा कंगो सरकार र विद्रोहीबीच शान्ति सम्झौतामा हस्ताक्षर भएपछि संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा नेपाली सेना त्यहाँ खटिँदै आएको छ। अहिले नेपाली सेना कंगोको ११ मध्ये द्वन्द्वप्रभावित दुई प्रदेशमा मात्र छ। ओरेन्टेल प्रदेशको बुनियाँ र उत्तरी किभुको माभिभी, बेनी, इरिङगेटे, मुतङगवा, बुटेम्बो र लुबेरोमा सेनाको क्याम्प छ।
कंगो क्षेत्रफलका हिसाबले अफ्रिकाको दोस्रो र विश्वको ११ औं ठूलो राष्ट्र हो। जनसंख्या करिब ७ करोड १० लाख। दक्षिण सुडान, युगान्डा, रुवान्डा, बुरुन्डी, जाम्बिया, एंगोला, तान्जानियालगायत देशसँग सीमा जोडिएको कंगो इसाई धर्मावलम्बी बढी भएको दोस्रो अफ्रिकी राष्ट्र।
सन् १९९८ मा कंगोमा द्वन्द्व सुरु भएको थियो, जुन दोस्रो कंगो युद्धका नामले पनि परिचित छ। कसैले यो युद्धलाई 'अफ्रिकन वर्ल्ड वार' समेत भन्ने गरेका छन्। यो युद्धमा प्रत्यक्ष तथा अप्रत्यक्ष ९ अफ्रिकी राष्ट्र र २० भन्दा बढी समूह सहभागी थिए। सन् २००३ मा सरकार र विद्रोहीबीच शान्ति सम्झौतामा हस्ताक्षर भए पनि उत्तरपूर्वी क्षेत्रका ओरेन्टेल र उत्तरी किभुमा हिंसा रोकिएको छैन।
कंगोभित्र सन् १९९८ देखि चलेको द्वन्द्वलाई दोस्रो विश्वयुद्धपछिको सबैभन्दा खतरनाक चित्रण गरिँदै आइएको छ। यो युद्धमा हालसम्म ५४ लाख मानिसको ज्यान गइसकेको अनुमान छ। गोलाबारुद मात्र होइन, मलेरिया, झाडापखला, कुपोषण, एचआइभी/एड्स मृत्युको प्रमुख कारण बनेका छन्। बलात्कार र अन्य यौनहिंसाका दृष्टिले कंगो विश्वमै बद्नाम छ। १५ वर्षयता कंगोमा २ लाखभन्दा बढी महिला बलात्कृत भएको तथ्यांक छ।
कंगोलाई क्षेत्रफलका हिसाबले १४ गुना साना देशले दुःख दिइरहेका छन्। छिमेकी युगान्डा, सुडान, बुरुन्डी, रुवान्डाका कुनै न कुनै समूह कंगो हिंसामा सहभागी छन्। 'हामीलाई साना छिमेकी देशले दुःख दिइरहेका छन्,' कंगोली सेनाका ८१ सेक्टर कमान्डर महासेनानी इरिक रुहोरिम्बेरीले भने, 'देशभित्र हाम्रा जनता मिलेर बसेका छन्।'
शान्ति सम्झौतामा हस्ताक्षर भइसकेपछि पनि उत्तरपूर्वी क्षेत्रमा माई माई, एम-ट्वान्टी-थ्री, डेमोक्रेटिक फोर्स फर द लिब्रेसन अफ रुवान्डा (एफडिएलआर), एलाइड डेमोक्रेटिक फोर्सेस लगायत समूह हिंसात्मक वि्र्कयाकलापमा सक्रिय छन्। एम-ट्वान्टी-थ्री समूहले गत नोभेम्बरमा उत्तरी किभुको राजधानी गोमामा आक्रमण गर्योि र तीन घन्टामै कब्जामा लियो। राष्ट्रिय सेनाको केही चलेन। राष्ट्रसंघको दबाबपछि एम-ट्वान्टी-थ्री डिसेम्बरमा गोमा छोडी २० किलोमिटर पर गएर बसेका छन्। कंगोली सेनामा उच्च पदसहित समायोजनको माग राख्दै आएको एम-ट्वान्टी-थ्रीसँग अहिले युगान्डाको राजधानी कम्पालामा वार्ता चलिरहेको छ।
'पूर्वी क्षेत्रको शान्ति अवस्था स्थिर छैन। खासगरी गोमामा,' कंगोमा राष्ट्रसंघीय मिसन मोनुस्कोकी कार्यकारी प्रमुख मार्याम वाथानाफाले भनिन्, 'हामीले जुन उद्देश्यले नेपाली सेना मगाएका थियौं, त्यो पूरा भइरहेको छ। नेपाली सेनाको उपस्थिति प्रशंसनीय छ।'
एम-ट्वान्टीथ्रीले गोमा कब्जामा लिएपछि स्थानीयले राष्ट्रसंघीय मिसनमा खटिएका नेपाललगायत विभिन्न देशका सेनामाथि रोष प्रकट गरे। बुटेम्बोस्थित नेपाली सेनाको क्याम्पमा ढुंगामुढा भयो। एम्बुलेन्स तोडफोड गरियो, स्थिति नियन्त्रणमा केही दिन लाग्यो।
'यहाँ कति बेला, के हुन्छ पत्तो हुँदैन,' छमहिने कार्यकाल सकाएर फर्किन लागेका नेपाली सेनाका महासेनानी ललितबहादुर कुँवरले भने, 'कुन समूहले कहाँ आक्रमण गर्छ, चौबीसै घन्टा चनाखो बस्नुपर्छ।'
.....
मैदान साना हुन् या ठूला, सम्म हुन् या भिरालो, खाल्डाखुल्डीले कुनै छेकबार गर्दैन। ससाना केटाकेटीदेखि युवाहरू फुटबलको अघिपछि दौडिरहेका हुन्छन्। कंगोको अन्य प्रदेशमा पनि यी देख्न पाइन्छ- मैदानको दुई छेउमा दुई-दुईवटा खाँबो गाडेर युवा जोस्सिँदै दौडिएका।
पिच सडक देख्न पाउनु सौभाग्य। कच्ची सडक र रातो माटो। कमै गाडी हँुइकिन्छन्। बाटोमा देखिने ९० प्रतिशत गाडी राष्ट्रसंघका। लामो दूरीमा मुस्किलले एक-दुई माइक्रो चल्छन्। नत्र आउजाउको एक मात्र भरपर्दो सेवा ढुवानी ट्रक। गाडीको अघिल्लो भागमा बाहेक दायाँबायाँ, पछि सबै मान्छे झुन्डिने।
छोटो दूरीका लागि भोडाभोडा (मोटरसाइकल) हरेक चोकमा छन्। सबै 'मेड इन चाइना'। ट्याक्सीको काम भोडाभोडाले दिन्छन्। एउटाले चारजनासम्म बोक्छ। राष्ट्रसंघको गाडीसँग कहिलेकाही यी भोडाभोडा आफैं ठोक्किन आउँछन् रे। भोडाभोडा देख्नेबित्तिकै गाडी चालकले गति कम गरिहाल्छन्। नत्र क्षतिपूर्तिका लागि ठूलै बिटो तयार पार्नुपर्छ।
गाडीले सडकवरपरका मान्छे नै छेक्ने गरी रातो माटो उडाउँछ। तै पनि मान्छे निधार खुम्च्याउँदैनन्, नाक छेक्दैनन्। गाडीमा घन्टौं यात्रा गर्दा पनि केरा र पामका जंगल छिचोल्न मुस्किल पर्छ, चारैतिर केरैकेरा।
द्वन्द्वप्रभावित क्षेत्रको मुख्य खानामध्ये एउटा हो केरा। यहाँका मानिस खेतीपाती गर्दैनन्। बाली लगायो, भिœयाउने बेला एउटा सशस्त्र समूह आउँछ, लुटी लैजान्छ। लुटेमात्र केही थिएन, प्राणै लुट्न थालेपछि किन गर्ने खेती? फेरि खानै नपुगेको कहाँ छ र! एकदिन जंगल पसे एक साता पुग्ने कन्दमूल बटुल्न भ्याइन्छ। जंगल छिर्यो भने सिमल तरुल, एबोकार्ड, केरा, उखु, सखरखण्ड, आँप- कतिकति। यहाँको प्रमुख खाना यिनै हुन्। चामलले धनीका घरमा मात्र बास पाउँछ। धनीका घर धारिला तारले बारिएका।
यहाँको प्रमुख खाना- सिमल तरुल (जंगली तरुल)। तरुल स-साना टुक्रा पारिन्छ। सुकेपछि ओखलमा कुटेर पिठो बनाइन्छ कासावा (ढिँडो) ओडालिन्छ। सिमल तरुलको पात तरकारी। कासावा ठूलो भाँडोमा बीचमा राखिन्छ। परिवारका सबै सदस्य वरिपरि बसेर एकसाथ झिक्दै खाँदै। कति मज्जा!
दिउँसो तीन बजेपछि सडक वरपर टाउकोमा केही नबोकेका मान्छै कमै भेटिन्छन्। कसैले केरा त कसैले सिमल तरुल। कसैले दाउरा त कसैले एबोकार्ड। नगदमा किनमेल कमै हुन्छ, बढीजसो सामान साटासाट। आफूसँग बढी भएको दाउरा दियो, अर्कोसँग बढी भएको तरुल लियो।
भूमध्यरेखामा पर्ने भएर यहाँको मौसम असाध्यै राम्रो मानिन्छ। वर्षमा नौ महिना वर्षायाम। तीन महिना सुख्खा भने पनि साताको एक दिन पानी परेकै हुन्छ। यहाँ प्रत्येक फलफूल बाह्रै महिना फुल्छ, फल्छ र पाक्छ- भूमध्यरेखामा हुनुको फाइदा।
द्वन्द्वप्रभावित क्षेत्रमा कंगो सरकारले विद्युत सेवा पुर्या्उन सकेको छैन। हुनेखानेले जेनेरेटर चलाएर बेलुका सहरलाई उज्यालो बनाउँछन्। विश्वकै सबैभन्दा ठूलो विद्युतबिनाको सहर बुटेम्बो यहीँ पर्छ। विद्युत छैन, तर धेरैका हातमा मोबाइल। ठाउँठाउँमा जेनेरेटेरबाट 'मोबाइल चार्ज सेन्टर' खोलिएका छन्।
यहाँको औसत उमेर ४५ वर्ष। यहाँ मानिस बूढो हुनै पाउँदैन- मलेरिया वा एड्समध्ये एकको सिकार भइहाल्छ। एड्ससँग भन्दा मलेरियासँग डराउँछन्। मलेरियाले एक सातामै लैजान्छ, एड्स लागे तत्कालै मरिँदैन भन्छन्। एड्सपीडित र एड्स नलागेका व्यक्ति खुसीखुसी बिहे गर्छन्।
छोराछोरी जन्माउन बन्देज छैन। 'हाम्रो समाजमा जति बढी बच्चा जन्मायो, त्यति राम्रो मानिन्छ,' बोटेम्बोमा भेटिएका तीन छोरी एक छोराका पिता ३४ वर्षीय लोप्सनले भने, 'बढी सन्तान भए समुदाय बढी सुरक्षित हुन्छ भन्ने विश्वास छ। यो द्वन्द्वको प्रभाव पनि हो।'
उत्तरपूर्वी कंगोमा द्वन्द्व चल्नुको कारण त्यहाँ रहेको खनिज हो। विश्वमै सबैभन्दा बढी बहुमूल्य खनिज सुन, हिरा, कोबाल्ट यहीँ पाइन्छ। स्थानीयका अनुसार माफियाले विद्रोही सशस्त्र समूह खडा गरी यहाँ पठाउँछन्। ती समूहले एउटा निश्चित भूभाग कब्जा गर्छन्। माफियाले ती ठाउँमा आएर खानी खनेर सुन, हिरा, कोबाल्ट लग्ने गर्छन्। बदलामा निश्चित रकम त्यस्ता समूहलाई उनीहरूले बुझाउँछन्। त्यसैले यहाँ सशस्त्र समूहहरु शान्ति हुनै दिन्नन्।

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......