प्रेस काउन्सिलको अध्यक्षमा पूर्व न्यायाधीश यादव नियुक्त

चलचित्र विकास बोर्डमा पप्पु

१२ माघ, काठमाडौं । सरकारले प्रेस काउन्सिलको अध्यक्षमा पूर्व न्यायाधीश अबधेशकुमार यादवलाई नियुक्त गरेको छ । शुक्रबारसाँझ बसेको मन्त्रिपरिषद् बैठकले सर्वोच्च अदालतका पूर्व न्यायाधीश यादवलाई काउन्सिलको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

नेपाल प्रेस काउन्सिलमा पत्रकार पृष्ठभूमिका व्यक्तिलाई नियुक्ति गरिँदै आएकोमा पूर्वन्यायाधीशलाई प्रेस काउन्सिलमा ल्याइएको यो पहिलो घटना हो ।

को हुन् यादव ?

कानुन र मानविकीमा स्नातक अध्ययन गरेका ६६ वषर्ीय यादव वि.सं. २००३ साल माघ १९ मा सप्तरीमा जन्मुभएको हो । ०६७ मंसिर २ मा सर्वोच्चको स्थायी न्यायाधीश बन्नुभएकोमा ०६८ माघ १८ मा उमेरका कारण १४ महिनामै उहाँले अवकाश पाउनुभएको थियो ।

सर्वोच्च अदालतमा उहाँकै एकल बेञ्चले ओखलढुंगाका एमाओवादी सभासद् केशव राईको ज्यान मुद्दा अघि नबढाउन अन्तरिम आदेश दिएको थियो । द्वन्द्वकालका मुद्दालाई शान्ति सम्झौताअनुसार हल गरिनुपर्ने यादवले आदेश दिएपछि एमाओवादी सभासद् राईको मुद्दा ओखलढुंगा जिल्ला अदालतमै रोकिएको छ । यही कारण कतिपयले सर्वोच्चमा यादव माओवादी कोटामा न्यायाधीश बनेको आरोपसमेत लगाउने गरेका छन् ।

अठार वर्षको वकालती पेशापछि यादव ०४८ सालमा पुनरावेदन अदालत दिपायलबाट न्यायाधीश बन्नुभएको हो । उहाँ नेपाल वारको सगरमाथा उपाध्यक्षसमेत बनिसक्नुभएको छ । सुर्खेत, बिराटनगर, हेटौडा, पाटन, तुलसीपुर आदि पुनरावदेश अदालतमा जिम्मेवारी सम्हालिसकेपछि यादव ०६५ भदौ ९ गते सर्वोच्च अदालतमा अस्थायी न्यायाधीशका रुपमा प्रवेश गर्नुभएको थियो । सरल मिजासका यादव वामपन्थी पृष्ठभूमिका हुनुहुन्छ ।

विकास बोर्डमा पप्पु

मन्त्रिपरिषद्को बैैठकले चलचित्रकर्मीहरुको आन्दोलनलाई बेवास्ता गर्दै सञ्चारमन्त्री राजकिशोर यादवको प्रस्तावअनुसार धर्मेन्द्र मरहथ्वा पप्पुलाई चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त गरेको छ । सरकारको निर्णय लगतै आन्दोलनरत चलचित्रकर्मीहरुले भने सरकारको निर्णय अस्वीकार्य भएको भन्दै आन्दोलन नरोक्ने बताएका छन् । उनीहरुले चलचित्र क्षेत्रमा सक्रिय व्यक्तिलाई नै बोर्डको अध्यक्ष बनाउन माग गर्दै आएका छन् ।

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......