घरमा पालेको कुकुरले घर मालिक वा चिनेको
मान्छेलाई भेट्दा पुच्छर हल्लाएर स्वागत गर्छ । तर अब कुकुरले मात्र हैन
मान्छेले पनि खुसी हुँदा वा कसैलाई स्वागत गर्दा मज्जाले पुच्छर
हल्लाउनेछन् ।
मान्छेको पुच्छर नै हुँदैन । आखिर मानिस र
पशु बीच एउटा फरक भनेकै पुच्छर नहुनु हो । त्यसो भए मान्छेले कसरी पुच्छर
हल्लाउन सम्भव हुन्छ त ? यो प्रश्न स्वभाविक छ । तर यसको उत्तर पनि
जुरिसकेको छ ।
हो, जापानी वैज्ञानिकले मानिसको पुच्छरको
आविष्कार गरेका छन् । यो पुच्छर मानिसले आफ्नो पछाडिपट्टी पिठयूँ तल
सिउँरिएपछि त्यसले ठ्याक्कै जनावरको पुच्छरको काम गर्नेछ । जब मानिस खुसी
हुन्छ वा उत्तेजित बन्दछ तब त्यो पुच्छर आफै हल्लिनेछ, मानौँ कुनै कुकुर
मालिकले खानेकुरा ल्याइदिँदा पुच्छर हल्लाइरहेको हुन्छ ।
वास्तवमा यो विद्युतिय पुच्छरमा सेन्सर
जडान गरिएको हुन्छ, जसको सम्बन्ध सिधै मुटुको धड्कनको गति वा पल्स रेट सँग
हुन्छ । जब मानिस बढि खुसी हुन्छ वा उत्तेजित बन्दछ तब उसको मुटुको गति
बढ्छ, यसो हुँदा उक्त पुच्छर पनि जोडजोडले हल्लिन्छ । जब मुटुको गति
सामान्य बन्दै जान्छ पुच्छर पनि लगभग स्थिर अवस्थामा आउँछ । साँच्ची यो
पुच्छर मानिसको मनोभावनाको सूचक पनि हुनेछ । किनकी पुच्छरको गति हेरेरै
मानिसको भावना पढ्न सकिन्छ । पुच्छर हल्लिएको छ भने बुझ्नुपर्छ उ
उत्तेजनामा छ वा उसको मुटुको गति बढि छ ।
टेली नाम दिइएको यस मानव पुच्छरका
निर्माता शोता इसिवातारी हुन् । आउँदा वर्षमा मानिसहरुको लागि यो पुच्छर
अनिवार्य साधन बन्ने उनको दाबी छ । अझ प्रेमी प्रेमिकाहरु डेटिडमा जाँदा यो
पुच्छर लगाएर जानु अति उत्तम हुने भन्दै उनले यसो गर्दा बोलेर मनको माया
प्रकट गर्न नसक्नेहरु आफ्नो पुच्छरको हल्लाइ बाटै मायालुलाई मायाको आभाष
दिलाउन सक्नेछन् ।




