बौद्धपछि बाँसबारी

काठमाडौं, माघ १ (नागरिक)- महिन्द्रा बाँसबारी फुटबल क्लब सहिद स्मारक रेडबुल ए डिभिजन लिग फुटबलमा रेलिगेसनमा पर्ने दोस्रो टोली बनेको छ। आइतबार दशरथ रगशालामा सिम्रिक सरस्वति क्लबसँग ८-२ को अन्तरले पराजित भएपछि बाँसबारी २ खेल अगावै रेलिगेसनमा परेको हो।
टोली ए डिभिजनबाट रेलिगेसनमा परेको यो तेस्रो पटक हो। २०३७ सालमा स्थापना भएको बाँसबारीको ए डिभिजन यात्रा उतार चढावपूर्ण रहेको छ। २०४३ सालमा बी डिभिजन च्याम्पियन बनेर बाँसबारी पहिलो पटक ए डिभिजनमा उक्लिएको थियो। त्यसको तीन वर्षपछि टोली रेलिगेसनमा पर्यो। २०५४ सालमा पुनः बी डिभिजन च्याम्पियन बनेर ए डिभिजनमा उक्लिएपनि २०५७ टोली फेरी रेलिगेसनमा पर्यो।
त्यसपछि खराब प्रदर्शनले निरन्तरता पाउँदा २०६० मा टोली 'बी' बाट 'सी' मा घटुवा भयो। २०६२ सालमा 'सी' डिभिजन च्याम्पियन र २०६५ मा 'बी' को उपविजेता बनेर टोली पुनः ए डिभिजनमा उक्लिएको थियो। गत बर्ष थ्री स्टार, आरसिटी, एपिएफ जस्ता टोलीलाई पराजित गर्दै सनसनी मच्चाएको टोलीले चार बर्षपछि पुनः ए डिभिजनको हैसियत गुमायो।
यसअघि जारी लिगमा बौद्ध फुटबल क्लब रेलिगेसनमा परिसकेको छ। सहज जित निकालेको कोटेश्वरको क्लबका योना इलियासले सर्वाधिक ६ गोल गरे। योनाले गरेको गोल जारी लिगमै ब्यक्तिगत सर्वाधिक गोल हो। त्यस्तै लिगमा सरस्वति र बाँसबारीबिचको प्रतिस्पर्धा एकै खेलमा सर्वाधिक गोल भएको खेल भएको छ।
एकै खेलमा ६ गोल गरेपछि योनाले जारी लिगमा सर्वाधिक गोलकर्त्ता खेलाडीमा अग्रता लिएका छन्। पछिल्लो तीन बर्षमा एक्लै खेलमा ६ गोल गर्ने उनी पहिलो खेलाडी समेत बनेको छन्। गत बर्ष योनासहित भरत खवास, गणेश लावती, जुमानु राई र सन्तोष साहुखलले एकै खेलमा समान ४ गोल गरेका थिए। २०६६-०६७ को लिगका दुई खेलमा सन्तोषले ४ गोल गरेका थिए। आइबारको ६ गोलसँगै लिगमा योनाको ब्यक्तिगत गोल सख्या १२ पुगेको छ। थ्रीस्टारका सन्तोष साहुखलले ११ गोल सहित अग्रता थियो। त्यस्तै सरस्वतिका ओलावाले युसेमान र बिबेक गुरुङले समान १ गोल गरे। बाँसबारीका युवक घले र प्रशान्त मगरले १-१ गोल गरे।
१३ खेलमा ६ जित र २ बराबरी गरेको सरस्वतिले २० अंक जोडेर अंक तालिकाको छैठौ स्थानमा उक्लियो। आइतबारको सफलताले टोलीको शीर्ष आठमा पुग्ने योजनालाई थप सहयोग गरेको छ। लिगमा कुनै पनि टोलीको प्रदर्शन एकनास नभएकोले टोली शिर्ष आठमा पर्ने सम्भाबना बढेको सरस्वतिका प्रशिक्षक ध्रुव केसीले बताए। उनले भने, 'लगातार २ गोल भएपछि टोलीको मनोबल बढेर फराकिलो जित हात लाग्यो, टोलीले राम्रो खेल्दै गएको छ, आगामी खेलमा मेहनत गरेर खेल्नेछौ।' अब सरस्वतिले आगामी खेल माघ ३ गते आरसीटी र माघ ८ गते आर्मीसँग खेल्नेछ।
अनुभवको कमीले खेलाडीले खराब नतिजा ब्यहोनु परेको बाँसबारीका प्रशिक्षक दिपेश योञ्जन लामाले बताए। लामाले भने, 'लगातार गोल खाएपछि मैलै खेलाडीलाई रणनिति परिवर्तन गरेर डिफेन्सिफ खेल्न निर्देशन दिए, खेलाडीले आत्तिएर आक्रमक भएर खेल्दा बिपक्षीले झन धेरै गोल गर्ने अवसर पायो, लिग खेल्नको लागि हामीसँग राम्रो खेलाडी पनि भएनन, बिदेशी खेलाडीको प्रदर्शन पनि खराब देखियो।'
अर्को खेलमा एपिएफले जारी लिगमा रेलिगेसन परेको पहिलो टिम बौद्धलाई ३-२ ले हरायो। पाचौ जित पछि एपीएफ रेलिगेसन क्षेत्रबाट सुरक्षित भएको छ। १३ चरणसम्म आईपुग्दा एपिएफले १५ अंक जोडेर लिगको अंक तालिकाको ११ औं स्थानमा छ। तीन खेल अगाडी नै रेलिगेसनमा परेको बौद्ध विरुद्ध एपीएफका सन्तोष श्रेष्ठले २ गोल र शिवराम गिरीले १ गोल गरे। रेलिगेसन टार्न सघर्ष गरिरहेको एपिएफका लागि आइतबार जितले राहत प्रदान गर्योन।
सन्तोषको गोलबाट एपीएफले सुरुवातमै अग्रता लियो। तीन मिनेटमा सन्तोषले श्याम नेपालीको पासलाई सदुपयोग गदै एपीएफलाई १-० ले अगाडी बढाए। ४५औं मिनेटमा सन्तोषले गोल गदै अग्रता दोब्बर पारे।बौद्धका सुबिन श्रेष्ठले गोल गदै खेल २-१ मा पुर्यांए। पहिलो हाफको इन्जुरी समयमा स्टेफिनले हानेको फ्रिकिकमा सुबिनले हेड गोलमा परिणत भएको थियो।
एपिएफका शिवरामले ४९औं मिनेटमा गोल गरे। शिवरामले कुमार थापाको फ्रिकिकलाई सदुपयोग गरेर गोल गर्न सफल भए। इन्जुरी समयमा बौद्धका सुबिन श्रेष्ठ गोल गरे पनि त्यो सान्त्वनाका लागि मात्र रहयो।
टेलिगेसनबाट जोगिनका लागि दबाब भएकोले टोलीले आफनो स्वभाविक खेल खेल्न नसकेको एपिएफ प्रशिक्षक जनक सिहले प्रतिक्रिया दिए। सिहले भने, 'आजको जितले खुसी छौ, अब टोलीले १ अंक जोडेपछि रेलिगेसनबाट जोगिने छ, खेलाडीले मेहनत गरे अनुसार लिगमा अझै प्रदर्शन राम्रो हुन सकेको छैन, आगामी खेलमा राम्रो गर्नेछौ।'

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......