नयाँ वर्ष मान्न नेपालगन्ज आएका भारतीयहरुले ‘केटी र कुखुराको मासु’ नपाएपछि होटलमा बबाल गरेका छन्।पुष्पलाल चोकस्थित सेती गेस्ट हाउसको १११ नम्बर कोठामा बसेका पाँच जना
भारतीयले केटी र कुखुराको मासु नपाएपछि अन्यत्र गएर मदिरा सेवन गरी आधा
रातमा आएर होटलमा बबाल गरेका हुन्। राति १ बजे अन्यत्र होटलमा गई मदिरा
सेवन गरेर फर्किएका भारतीयहरुले होटलवालाले ढोका नखोलेपछि ढुंगा हानेर
होटलको सिसासमेत फुटाइदिएका थिए।
भारत गोन्डाका अनुप गुप्ता, हिमांशु सिंह, प्रकाशचन्द्र, विशाल गुप्ता र
देवेन्द्र सोडी नेपालगन्जमा ‘रिल्याक्स’ गर्न आउँदा होटलमा बबाल गरेर
प्रहरी फन्दामा परेका हुन्। यूपी ४३ आर ९५७१ नम्बरको गाडीमा नेपालगन्ज आएका
उनीहरुले उक्त होटलको १११ नम्बरको कोठा बुक गरेपछि केटी र कुखुराको मासु
माग गरेका थिए। होटल सञ्चालकले ‘केटी नपाइने’ भनेपछि आक्रोशित भएर
बाहिरिएका उनीहरु अन्यत्रबाट मातेर राति १ बजे होटलमा आएका थिए। होटलवालाले
ढोका नखोलेपछि उनीहरुले ढोका हातले र ढुंगा हानेर सिसा फुटाइदिएका हुन्।
होटल सञ्चालकले उजुरी गरेपछि प्रहरीको फन्दामा परेका पाँच जना भारतीयले ३
हजार २ सय रुपियाँ तिरेका छन्। त्यति रकम बराबरको तोडफोड भएको होटल
सञ्चालकले बताएपछि भारतीयहरुले रकम तिरेर प्रहरीबाट मुक्ति पाएको बुझिएको
छ।
सीमावर्ती शहर भएकाले नेपालगन्ज र आसपासका बजारमा आएर भारतीयहरुले मदिरा
सेवन गरेर हो–हल्ला गर्ने घटना सामान्यजस्तै भएको जानकारहरु बताउँछन्।
भारतीयहरुले नै जमुनाहको दशगजा क्षेत्रमा मदिरा सेवन गरेर होहल्ला गरेको
भन्दै बाँके प्रहरीले त्यस क्षेत्रमा मदिरा निषेध नै गरेको थियो।
