१० करोड तीर्थयात्रु गंगा नदीको तीरमा भेला हुने अनुमान

पौष २९ । भारतमा भोलिदेखि विश्वकै
सबैभन्दा ठूलो पर्वका रुपमा कुम्भ मेला शुरु हुँदैछ । गुरु तथा साधुसहित
करिब १० करोड तीर्थ यात्रु गंगा नदीको तीरमा भेला हुने अनुमान छ । गंगा
तीरमा अवस्थित उत्तर भारतमा कुम्भ मेला ५५ दिनसम्म चल्नेछ । भारतभरका गुरु
तथा साधुले भाग लिने मेलामा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त व्यक्तिहरुको
पनि उपस्थिति हुने बताइएको छ । कुम्भ मेला हिन्दू पवित्र धार्मिक स्नानसँग
सम्बन्धित छ । तीर्थयात्रीहरु यो मेलामा गंगामा स्नान गरे आफ्नो पाप
पखालिने विश्वास गर्छन् । लाखौं लाख तीर्र्थयात्री गंगा किनारका शिविरमा
पुगिसकेका छन् । कुम्भ मेलामा आउने सबै तीर्थयात्रीलाई नुहाउने अवसर
मिलाउनु सबैभन्दा ठूलो चुनौती हुने इलाहावादका अधिकारीहरुले बताएका छन् ।
सन् २००३ मा पश्चिमी नगर नासिकमा आयोजना गरिएको कुम्भ मेलामा ४५ जनाको
मृत्यु भएको थियो । उत्तर प्रदेशमा रहेको इलाहावाद यमुना तथा गंगाको
दोभानमा रहेको छ । यसले सन् २००१ मा कुम्भ मेला अयोजना गरेको थियो र त्यस
समयमा त्यहाँ ११ करोड तीर्थयात्रीले भाग लिएका थिए । यसवर्ष प्रतिदिन २०
लाख तीर्थयात्री नगर प्रवेश गर्ने अनुमान गरेका छन् । मेलाको सुरक्षाका
लागि १२ हजार प्रहरी तैनाथ गरिएको बताइएको छ । सात हजार बस तथा ७ सय ५० ओटा
रेलले तीन प्रमुख स्नान स्थलबाट तीर्थयात्री ल्याउने र लैजाने काम
गर्नेछन् । प्रमुख स्नान गर्ने दिन माघ १, १४, २८ र फागुन १४ तथा २७ गतेमा
परेको छ । फागुन ४ गते वसन्त पञ्चमीका दिन करिव एक करोड मानिसले मेलामा
स्नान गर्ने अनुमान गरिएको छ । नागा र हातमा त्रिशूल लिएका साधुको ठूलो भीड
एकै पटक गंगामा प्रवेश गर्नेछन् । मेलामा प्लास्टिकको थैलामाथि प्रतिबन्ध
लगाइएको छ भने तीर्थयात्रीलाई नुहाउँदा साबुन प्रयोग नगर्न भनिएको छ ।
नदीमा फूल, धुप तथा काठ नफयाँक्न भनिएको छ ।