विज्ञापन गरेर गठन भएको पार्टीको अर्को नौटंकी
२ माघ, काठमाडौं । सरकारी तथा गैरसरकारी
संघसंस्थाले कामदार मागेको शैलीमा गएको कात्तिक दोस्रो हप्ता राष्ट्रिय
पत्रिकामा उपाध्यक्षदेखि जिल्ला सभापतिसम्म विज्ञापन माग गरेर गठन भएको
एउटा दलले आफ्नो ‘नौटंकी’ अझै छोडेको छैन । उपाध्यक्ष, महामन्त्री, सचिव,
कोषाध्यक्ष, प्रवक्ता, सचेतक, केन्द्रीय सदस्य, भ्रातृ संगठनका अध्यक्ष,
जिल्ला सभापति लगायतका बिभिन्न १७ पदमा २ सय ७३ जनाको आवेदन माग गरेर
थालिएको ‘नौटंकी’ अहिले चुनावको उम्मेद्वार माग्ने तहसम्म पुगेको छ ।
दलहरुबीच सहमति नभएको कारण बैशाखको लागि
तोकिएको चुनाव असम्भव पक्का भैसकेको बेला विज्ञापन गरेर जन्मेको ‘नेपाल
नागरिक पार्टी’ले मंगलबार मात्र चुनावमा उम्मेद्वार बन्न अर्को विज्ञापन
गरेको छ । ‘नेपाली जनताको साथ, शहीदहरुले दिएको बलिदानको प्रतिफलबाट
प्राप्त लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्ने प्रण गर्दै लोकतान्त्रिक
मूल्य मान्यता राख्ने व्यक्तिलाई आगामी दिनमा हुने संविधानसभाको निर्वाचनमा
चुनावी उम्मेद्वार नेपाली जनताको बीचबाट चुनावी मैदानमा उतार्दैछ’
राष्ट्रिय दैनिकहरुमा लाखौं खर्च गरेर निकालिएको विज्ञापनमा उल्लेख छ ।
पार्टीको केन्द्रीय सदस्य पदमा रही
चुनावमा भाग लिन इच्छुक र सबै क्षेत्रमा सक्षम नेपाली नागरिकलाई सुनौलो
मौका प्रदान गर्न लागेको विज्ञापनमा उल्लेख छ । विज्ञापनमा लेखिएको छ-’७५
जिल्लाका जिल्ला सभापति, नगर प्रमुख र गाविस अध्यक्ष, न.पा. वडा अध्यक्ष र
विभिन्न भ्रातृ संगठनका केन्द्रीय अध्यक्ष तथा जिल्ला अध्यक्षहरुको पनि
जनताका बीचबाटै प्रतिनिधि नियुक्ती गर्ने यस पार्टीको निर्णय भएको हुँदा
सक्षम र इच्छुक व्यक्तिहरुले नागरिकता वा परिचय खुल्ने कुनैपनि परिचयपत्र र
३ प्रति पासपोर्ट साइज फोटो सहित छिटोभन्दा छिटो यस पार्टीको केन्द्रीय
कार्यालयमा सम्पर्क गर्नुहोला ।’
चुनावमा उठ्नेलाई तालिम दिने पनि नागरिक पार्टीले जनाएको छ ।
कस्तो हो यो पार्टी ?
कात्तिकको दोस्रो हप्ता राष्ट्रिय
पत्रिकामा विज्ञापन नै गरेर पार्टीको अध्यक्ष बाहेक अरु पदाधिकारी माग
गर्दा सबै चकित भएका थिए । यसरी पार्टी गठन भएको थाहा नपाएका सबैले यसलाई
नौटंकी र चर्चा कमाउने कसैको मेलोको रुपमा लिए । त्यसको झण्डै दुई महिनापछि
यसको रहस्य खुल्यो । यसअघि कहिल्यै नाम नसुनिएका कृष्णहरि अधिकारी
पार्टीको अध्यक्ष भएको थाहा भयो । पार्टीका अरु पदाधिकारी पनि यस्तै नाम
नसुनिएका व्यक्तिहरु छन् ।
राजधानीको तीनकुनेमा कार्यालय रहेको यो
पार्टीले केही दिन पहिले २०६४ सालपछि दर्ता भएका दलहरुसँग अन्तक्रिर्या
कार्यक्रम गर्ने भनेर पनि विज्ञापन गर्यो । तर त्यहाँ कुनै दल पुगेनन् ।
कसैले नपत्याएपनि पार्टीले लाखौं रुपैंया खर्च गरेर विज्ञापन गर्न र अरु
‘नौटंकी’ देखाउन छाडेको छैन ।
लेखीको आपत्ति
निर्वाचन आयोगमा यसअघि नै ‘नेपाल नागरिक
पार्टी’ का नाममा दल दर्ता भैसकेको छ । यसका अध्यक्ष हुनुहुन्छ, आदिवासी
जनजाति महासंघका अध्यक्ष राजकुमार लेखी । आफ्नो पार्टीको नाममा पत्रिकामा
नौटंकी देखाइएको भन्दै उहाँले आपत्ति जनाउनुभएको छ । ‘यो निन्दनीय र अनैतिक
काम हो’ लेखीले अनलाइनखबरसित भन्नुभयो-’यसको सबै क्षेत्रबाट बिरोध
हुनुपर्छ ।’
