यो यस्तो मोबाइल फोन हो जो तपाइँले
नुहाउँदा पनि निर्धक्क प्रयोग गर्न सक्नुहुन्छ । पौडी खेल्न स्विमिङ पुलमा
छिर्नुभएको छ भनेपनि मोबाइलमा मज्जाले कुरा गर्न तपाइँलाई बाधा पर्नेछैन ।
अब तपाइँले मोबाइल पानीमा खस्ला की भनेर चिन्ता लिनु पर्दैन । गोजीमा भएको
मोबाइल ट्वाइलेटको कमोटमा खस्यो भने पनि त्यसलाई टिपेर धोइपखाली गरेर
प्रयोग गर्न सम्भव हुन्छ ।

यति भनिरहँदा तपाइँलाई बकबास लागिरहेको छ
होला । तर यो साँचो हो । जापानी कम्पनी सोनी ले यस्तो वाटरप्रुफ मोबाइल
बजारमा ल्याएको छ जसलाई पानीले कुनै बिगार गर्न सक्दैन ।
अमेरिकाको लस भेगासमा आयोजित उपभोक्ता
इलेक्ट्रोनिक्स शो मा यो मोबाइलको मोडेल सार्वजनिक गरिएको हो । यसको नाम
एक्स पेरिया जेड राखिएको छ ।
पाँच इन्चको स्त्रिmन सहितको यो मोबाइल
फोन पानी भित्र एक मिटर सम्मको गहिराइमा आधा घण्टा सम्म राख्दा समेत केही
हुँदैन । मोबाइल फोहोर भयो भने धारामा मज्जाले धोइपखाली गर्न सकिने सोनी
कम्पनीको दाबी छ । विश्वमा हरेक दश जना मोबाइल प्रयोग कर्तामध्ये एक जनाले
आफ्नो मोबाइल फोन ट्वाइलेटमा खसेको कटू अनुभव बटुलेका दाबी गर्दै कम्पनीले
आफ्नो नयाँ मोबाइलले यो टाउको दुखाइएको विषयलाई निमिट्यान्न पार्ने दाबी
गरेको छ ।
अबको केही हप्ता भित्रैमा यसलाई बजारमा पठाइनेछ ।
यो मोबाइल फोनमा एस फोर प्रो क्वाड कोर
प्रोसेसर, १३ मेगा पिक्सेलको क्यामरा तथा एन्ड्रोइड अपरेटिङ सिस्टम हुनेछ ।
यो मोबाइलको मूल्य पनि खासै महंगो हुनेछैन ।





