१ माघ, काठमाण्डौं । आज माघेसङ्क्रान्ति
जलाशय, नदी, तथा त्रिवेणीमा स्नान र देवमन्दिरमा पूजापाठ गर्नाका साथै
घिउ,चाकु, तिलको लड्डु र तरुल दान एवं खाई मनाइँदैछ ।
ज्योतिष शास्त्रअनुसार सौर तिथिका हिसाबले
आजदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण हुने हुनाले
आजदेखि दिन लामो हुने र रात छोटो हुँदै जान्छ ।
‘भविष्यपुराण’ तथा ‘धर्मसिन्धु’ नामक
ग्रन्थमा आजका दिन स्नान गरी घिउ, चाकु, तिलको लड्डु, सागपात, तरुल,
वस्त्र, पानीको भाँडो र आगो ताप्ने मकलसहितको सिदा दान गरेमा विशेष फल
प्राप्त हुने र उक्त पदार्थ आफूले खाएमा शरीर पोसिलो हुनाका साथै निरोगी
होइने उल्लेख छ ।
लड्डु तथा घिउचाकु सङ्क्रान्ति पनि भनिने
यस पर्वलाई नेवारी भाषामा ‘घ्यः चाकु सन्हु’ तथा नेपालीमा ‘मकर
सङ्क्रान्ति’ पनि भन्ने गरिन्छ । यस पर्वमा नेपालको शङ्खमूल, देवघाट,
वराहक्षेत्र, पनौती, दोलालघाट र कन्काई तथा भारतका प्रयाग र गङ्गासागरलगायत
नदी तथा त्रिवेणीमा स्नान, दान, श्राद्धलगायत कार्य गर्नेहरूको ठूलो भिड
लाग्छ । नेपालको रुरु रिडी क्षेत्रमा आजदेखि तीनदिन सम्म धुमधामका साथ मकर
मेला लाग्ने गर्छ ।
आयुर्वेद र चिकित्साशास्त्रमा पनि यो दिन
खाइने परम्परागत खाद्य पदार्थले हाम्रो शरीरलाई आवश्यक पर्ने प्रोटिन,
कार्बोहाइड्रेट र क्याल्सियमलगायत तत्व प्राप्त हुने र तिनले सम्भावित
रोगसँग लड्ने क्षमता प्रदान गर्ने तथा शरीरमा भएका विकारलाई बाहिर पठाउने
उल्लेख गरिएको छ ।
शिशिर ऋतुमा पर्ने यो सङ्क्रान्तिमा शरीर
शुद्ध गरी घिउ, चाकु, तिल र खिचडी खानाले शरीरमा गर्मीको मात्रा बढी तागत
दिने तथा मास हाली पकाइएको तेल शरीरमा घस्दा चिसोबाट मुक्त भई शरीरका
छालासम्बन्धी र अन्य रोग नाश हुने विश्वास गरिन्छ ।
यसै दिन भक्तपुरको टौमढी टोलमा
तिलमाधवनारायणको मन्दिरमा मेला लाग्ने र दीपङ्कर बुद्धको पूजा गर्ने गरिन्छ
। थारु समुदायमा यो पर्व ‘माघी’ पर्वका रूपमा धुमधामका साथ मनाइन्छ । आजको
दिन यस समुदायमा मासको दाल र चामल मिसाइएको खिचडी खाने र पाँच दिनसम्म
मनाउने चलन छ ।
