आजकै दिन आएको थियो ९० सालको भुइँचालो

राजधानी भूकम्पको उच्च जोखिममा !

२ माघ, काठमाडौं । वि.सं. १९९० साल माघ २ गते गएको भुकम्पमा दिवंगत हुनेहरुको संस्मरण गर्दै ०५५ सालदेखि प्रत्येक वर्ष सरकारले भूकम्प सुरक्षा दिवस मनाउने गरेको छ । नेपालमा वि.स. १९९० सालमा आजकै दिन गएको भूकम्पलाई सम्झेर अझैसम्म धेरै वृद्धवृद्धाहरु झस्किने गरेका छन् ।

सात सय वर्षको ज्ञात इतिहासमा नेपालमा वि.स. १९९० को भूकम्प नै सबैभन्दा ठूलो हो । दिउँसो आएको सो भूकम्पमा परी ८ हजार ७ सय मान्छेले ज्यान गुमाएका थिए भने ८० हजार भन्दा धेरै घर तथा अन्य संरचना भत्केका थिए । अहिले नेपालमा त्यही तीव्रता अर्थात ८ दशमलव ४ रेक्टर स्केलको भूकम्प आए सिंगो देश, त्यसमाथि पनि काठमाडौं उपत्यकाको हालत भयावह हुने विज्ञहरुले दावी गरेका छन् ।
नेपालमा १९९० सालको जस्तै क्षमताको भुकम्प आएमा अहिले त्यसको भन्दा तीस गुणा बढी क्षति हुने भूकम्पविदहरु दाबी गर्छन् । नेपालको भूकम्पीय जोखिमबारे लामो समय अध्ययन गरेका फ्रन्सेली भूकम्पविद् फ्रदेरिक पेरियलको अध्यनलाई मान्ने हो भने- त्यस्तो भूकम्पले तराईदेखि पहाडसम्म भयङ्कर क्षति पुर्‍याउने सक्छ ।
१२ वर्षपहिले भूकम्प प्रविधि राष्ट्रिय समाज, नेपालले गरेको एक अध्ययनले पनि ९० सालकै तीव्रताको भूकम्प आएमा राजधानीमा कम्तीमा ४० हजार मानिसको मृत्यु हुने देखाएको थियो । उपत्यकामा एक लाखभन्दा बढी घाइते हुने र सात लाख घरबारविहीन बन्ने अध्ययनले देखाएको थियो । समाजका अनुसार उपत्यकाका ६० प्रतिशत घर नष्ट हुनेछन्, विद्युत आपूर्ति पूरै अवरुद्ध हुनेछ, सडक कंक्रिटले ढाकिने छन्, उद्धारमा चरम कठिनाइ आउने छ ।
यो अध्ययन सार्वजनिक हुँदा काठमाडौं उपत्यकाको जनसंख्या करिव १५ लाखको हाराहारीमा थियो । तर, अहिले त्यो संख्या बढेर २५ लाख १७ हजार २३ पुगेको छ । काठमाडौं महानगरपालिका सहरी विकास विभागका अनुसार, महानगरभित्र वाषिर्क ४ हजार घर बनिरहेका छन् । यसरी बनेकामध्ये ६० प्रतिशतभन्दा बढी घर भूकम्पीय जोखिम धान्न सक्ने क्षमतायुक्त छैनन् ।
भूकम्पीय जोखिम प्रविधिको क्षेत्रमा काम गररिरहेका प्राविधिकहरु, राजधानीका ८५ प्रतिशत घर जोखिममा रहेको बताउँछन् । राजधानीमा बनेका आधुनिक घरसमेत ५० प्रतिशत जोखिममै छन् । धनाढ्यका घरहरु पनि भूकम्पीय जोखिमबाट हेर्दा ५० प्रतिशत मात्र सुरक्षित रहेको पाइएको छ । भवनको डिजाइन तथा निर्माणमा भवनसंहिता नमानिएकाले यस्तो जोखिम देखिएको हो ।
मुलुकका विभिन्न ठूला १२ वटा सहरमा गरिएको अध्ययन अनुसार कुनैपनि सहर भुकम्पीय हिसावले सुरक्षित छैनन् । भूकम्पीय जोखिममा नेपाल र त्यसमाथि काठमाडौं भयावह अवस्थामा रहेको अन्तराष्ट्रिय अध्ययनहरुले पनि देखाएको छ । उपत्यकामा आवास तथा व्यापारका लागि बनिरहेका ठूलठूला निर्माणहरुले त झन् जोखिम बढाइरहेको विज्ञहरु दाबी गर्छन् ।
काठमाडौं उपत्यका नगर विकास समितिले अहिलेसम्म सामुहिक आवास, संयुक्त आवास, जग्गा विकासका लागि करिव एक सय व्यक्ति वा र्फमलाई अनुमति दिएको छ । अनुमति अनुसार तिनले ७ देखि २३ तलासम्मका भवन निर्माण गरी रहेका छन् । ती भवनहरु भूकम्पीय जोखिमबाट मुक्त हुने गरी बनाउने शर्तमा अनुमति दिइएको छ । तर विज्ञहरु, सर्त अनुसार भवन निर्माण नभएको दावी गर्छन् । निर्माण भइरहेका विशाल संरचनाहरु भूकम्पीय दृष्टिले सुरक्षित नभएको उनीहरुको दावी छ । ठूला-ठूला भवनहरु भुकम्पीय सुरक्षाका हिसावले बनाइएको भए पनि ती भवनले पाँचदेखि सात सेकेन्डभन्दा बढी भूकम्पको धक्का थेग्न नसक्ने विज्ञहरुको दावी छ । किनकि काठमाडौमा माटो परीक्षण गरेर निर्माणको जग भनेजति तला थाम्ने गरी निर्माण गरिए पनि माथिका तलामा मापदण्ड अनुसार कतै काम नहुने गरेकाले जोखीम बढी भएको हो ।
यस्तो डरलाग्दो तथ्यले काठमाडौबासीलाई पक्कै पनि झस्काउन सक्छ । तर पनि यो अनुमानित आँकडा हो र यदि भुकम्प आइहालेमा यसबाट उपत्यकाको आधा जनसंख्या सम्पूर्ण हिसावले प्रभावित बन्नेछ ।
विश्वमा गएको पछिल्लो भुकम्प र त्यसको विनास हेर्दा यसले मानव सभ्यतालाई तहस-नहस बनाएको छ । थुपै्र मुलुक भुकम्पकै कारण मानव विकास सुचांकमा दशकौं ंपछि धकेलिएका छन् । यसबाट आफु र आफ्ना सन्ततिलाई जोगाउने हो भने हामीले भवन निमार्ण गर्दा वेलैमा सावधानी अपनाउनु जरुरी हुन्छ, किनकि नेपालको लिखित इतिहासमा धेरैपटक प्रलयकारी भुकम्प गएको छ र काठमाडौ लगायतका अरु धेरै शहर अहिले पनि भुकम्पीय जोखिमका हिसावले खतरामा छन् ।
सरकारी योजना
भूकम्पबाट हुने नोक्सानी कम गर्न सरकारले राष्ट्रिय भवन निर्माण संहिता लागु गरेको छ । जसअनुसार भूकम्प सूरक्षात्मक प्रविधि अवलम्बन गरी बनाइएको नक्सा बमोजिम मात्र भवन निर्माण गरेमा क्षति न्यूनीकरण हुन्छ । तर, दिवस मनाएर मात्रै क्षति न्यूनीकरण संभव छैन । मुलुकका आवास क्षेत्र मात्र हैन विभिन्न विद्यालय तथा अस्पताल समेत जोखिममा छन् । तिनलाई जोखिम मुक्त बनाउनेतर्फ पनि राज्य लाग्नुपर्छ । नत्र अस्पतालका विरामी समेत एउटै भुंग्रोमा पर्नेछन् ।
-छत्र शंकरबाट

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......