काठमाडौं, माघ १०- एकीकृत नेपाल राष्ट्रवादी मोर्चाले नेपाल र भारतबीचको सन् १९५० को सम्झौताअनुसार सन् १८१५ मा भएको सुगौली सन्धि खारेज भइसकेकाले नेपालले गुमाएका भू-भागहरू फिर्ता गराउन बेलायत सरकारको ध्यानाकर्षण गराएको छ।
मोर्चाको प्रतिनिधिमण्डलले आज नेपालका लागि बेलायती राजदूत जोन टक्नटलाई स्मरणपत्र बुझाई बेलायतका प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको हो। सन् १९५० जुलाई ३१ मा नेपाल-भारतबीच भएको
सन्धिअनुसार सुगौली सन्धि रद्द भएता पनि नेपालले गुमाएका मेची पूर्व र महाकाली पश्चिमका नेपालका भू-भागहरू भारतले फिर्ता नगरेको सो स्मरणपत्रमा उल्लेख छ।
राजदूत टक्नटसँगको भेटपछि मोर्चाका अध्यक्ष फणिन्द्र नेपालले बेलायतको मातहतमा भारत रहेको समयमा नेपालसँग सुगौली सन्धि भएकाले त्यसको खारेजीकरणमा उसको नैतिक भूमिका हुने आफूहरूले ध्यानाकर्षण गराएको बताए।
उनका अनुसार राजदूत टक्नटले आफूले बेलायतका प्रधानमन्त्रीलाई सो पत्र पठाउने र उताबाट आएको जवाफ मोर्चालाई उपलब्ध गराउने प्रतिबद्धता जनाएको मोर्चाले जनाएको छ। रासस
