ओखलढुङ्गा, माघ ५- दक्षिणी गाविस मानेभञ्ज्याङको सगरमाथा स्वास्थ्य आमा सञ्जालले गर्भवतीलाई अन्डा वितरण गर्न थालेको छ। स्वास्थ्यचौकीमा गएर नियमित स्वास्थ्य जाँच गराउने गर्भवतीलाई सञ्जालले उपहारस्वरुप अन्डा वितरण गर्न थालेको हो। सञ्जालका अध्यक्ष माया राईले गर्भ जाँच गराउन र आमा तथा बच्चाको जीवनरक्षाका लागि सो अभियान थालिएको बताउनुभयो। गर्भवती भएको चार
महिनादेखि नौ महिनासम्म चार पटक जाँच गराउनेलाई २७ वटा अन्डा उपहार दिने गरिएको बताइएको छ।
सो अभियानबाट गर्भवतीको स्वास्थ्य स्थितिबारे थाहा हुने र गर्भवतीले पौष्टिक तत्व पनि पाउने भएकाले दोहोरो फाइदा पुगेको स्थानीयवासीको भनाइ छ। गत साउनदेखि सुरु भएको अभियानमार्फत हालसम्म २३ गर्भवतीले गर्भजाँच गराएर अन्डा प्राप्त गरिसकेका छन्। रासस

