काँग्रेस–एमाले नेताविरुद्ध मुद्धा हाल्ने तयारी




काठमाडौँ, २८ पुस । जनयुद्धका सहिद तथा बेपत्ता परिवारले तत्कालीन राजनीतिक नेतृत्वविरुद्ध किटानी जाहेरी दिने तयारी गरेका छन् ।
तत्कालीन विद्रोही नेकपा माओवादीका नेता कार्यकर्ताविरूद्ध का“ग्रेस एमालेले हत्या अभियोगमा मुद्धा दायर गर्ने क्रमलाई तीव्रता दिएपछि सहिद तथा बेपत्ता परिवार पनि उनीहरूविरूद्ध मुद्धा हाल्ने तयारीमा जुटेका हुन् । यस्तै सशस्त्र जनयुद्धका क्रममा जेल तथा हिरासत बसेका, चरम यातना पाएका र अंगभंग भएकाहरूले पनि मुद्धा दायर गर्ने भएका छन् । ‘हामी तयारी गरिरहेका छौँ, राज्यद्वारा बेपत्ता योद्धा परिवार समाज नेपालकी सदस्य रेखा बास्तोलाले कृष्णसेन अनलाइनसँग भन्नुभयो, ‘कसलाई र कसरी हाल्ने भन्नेबारे छलफल भइरहेको छ ।’ 

काँग्रेस–एमालेले शान्ति सम्झौताको मर्म र भावनाविरुद्ध हत्याराका रुपमा माओवादी कार्यकर्ताविरुद्ध मुद्धा हालेकाले आफूहरुले पनि आफ्ना परिवारका सदस्यको हत्या र बेपत्ता पार्नेलाई नछाड्ने बास्तोलाको भनाइ थियो । ‘सत्य निरुपण तथा मेलमिलाप आयोगमार्फत घटनाको किनारा लगाउने भन्ने प्रतिबद्धता जनाउने अनि एकपछि अर्को गरेर मुद्धा हाल्ने प्रक्रिया सुरु भएपछि हामी चुप लागेर बस्दैनौँ । ‘बास्तोलाले भन्नुभयो, ‘के पीडा उनीहरुलाई मात्र छ, हामीलाई हाम्रा परिवारका सदस्य मारिँदा र बेपत्ता पारिँदा चाहिँ पीडा हुँदैन ?’ बाँस्तोलाले कुन घटनामा कसको संलग्नता थियो भन्नेबारे देशका ७५ वटै जिल्लामा तथ्यांक संकलन भइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार २०५२ फागुन १ देखि विस्तृत शान्ति सम्झौता (२०६३ मंसिर ५ ) गतेसम्मका प्रधानमन्त्री, गृहमन्त्री, मन्त्री, मुख्यसचिव र जिल्लास्थित राजनीतिक संयन्त्रमा प्रतिनिधित्व गरेका व्यक्तिहरुमाथि गैरकानुनी हत्या, बेपत्ता, लुटपाट, बलात्कार र चोरीडकैतीजस्ता अभियोगमा किटानी जाहेरी दिइने छ । राजनीतिक नेतृत्वको आदेश पालना गर्ने सुरक्षा निकायका अधिकारीविरुद्ध भने तत्काल मुद्धा दायर नगर्ने एक नेताले जानकारी दिए । 

पहिलो चरणमा पत्रकार हत्यारालाई मुद्धा हालिने 

यसैबीच क्रान्तिकारी पत्रकार संघले सशस्त्र जनयुद्धका बेला माओवादी आरोपमा मारिएका र बेपत्ता पारिएका पत्रकारका परिवारलाई मुद्धा हाल्न लगाउने भएको छ । संघको शुक्रबार साँझ राजधानीमा बसेको केन्द्रीय महाधिवेशन आयोजक समितिको सचिवालय बैठकले कृष्ण सेनसहितका पत्रकारका हत्या तथा बेपत्ता पर्ने काममा संलग्नमाथि मुद्धा हाल्ने निर्णय गरेको हो । तत्कालीन राज्यद्वारा माओवादी आरोपमा २४ पत्रकारको हत्या गर्नुका साथै तीन जनालाई बेपत्ता पारिएको थियो । ‘अहिले दलेखका पत्रकार डेकेन्द्र थापाको प्रसंगलाई जसरी उठाइएको छ, हाम्रो आशय पीीडत परिवारले न्याय पाउनु हुन्न भन्ने होइन’, संघका अध्यक्ष गोविन्द आचार्यले भन्नुभयो, ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका चर्का कुरा गर्नेले कृष्ण सेनसहित हाम्रा २४ जना कलजजीवि साथीको हत्या गरेका छन् र तीन जनालाई बेपत्ता पारेका छन्, अब हामी पनि छाड्दैनौँ ।’ यस्तै संघले पत्रकारका हत्यारा र बेपत्ता पार्नेलाई कारबाहीको माग गर्दै राष्ट्रपति रामवरण यादवसहित शान्ति सम्झौतामा हस्ताक्षरकर्ता तत्कालीन सात राजनीतिक दलका नेतासमक्ष ज्ञापनपत्र बुझाउने निर्णय समेत गरेको छ । संघले आगामी माघ २ गते राजधानीसहित देशैभर पत्रकारका हत्यारामाथि कारबाहीको माग गर्दै प्रदर्शनसमेत गर्ने भएको छ । 

दुई माओवादीबीच सहकार्य हुने 

एकीकृत माओवादी र नेकपा–माओवादीबीच हत्या र बेपत्ता पार्ने काममा सलग्न तत्कालीन राज्यका जिम्मेवार व्यक्तिमाथि कारबाहीका लागि दबाब दिन सहकार्य हुने भएको छ । आफ्ना नेता कार्यकर्तामाथि विपक्षी काँग्रेस–एमालेले पार्टीनिकट मानवअधिकारवादी संघसंस्था, पत्रकार, कानुन व्यवसायी तथा नागरिक अगुवामार्फत मुद्धा हाल्ने र सडकमा प्रदर्शन गर्ने क्रम तीव्र पारेपछि दुई माओवादीबीच सहकार्य हुने भएको हो । त्यसका लागि उच्च नेतृत्वबीच छलफल भइरहेको बुझिएको छ । 


तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......