गृहमन्त्रालय रकमको जोहो गर्न व्यस्त
२५ पुस, काठमाडौं । देशभर हृवात्तै बढेको
चिसोले जनजीवन प्रभावित भैरहेका बेला सरकारले मंगलबार निर्णय गर्यो-तराईका
हरेक परिवारलाई एउटा कम्बल र दाउरा वितरण गर्ने । यो निर्णय सुनेपछि घरमा
बाक्लो ओढ्ने ओछ्याउने भएकाले ओठ लेब्राए । पातलो च्यादर र परालको भरमा रात
काट्नेहरुले चाहिँ सरकारी कम्बल ओढेको सपना देखे । तर सरकारी कम्बल ओढेको
सपना यति चाँडै पूरा होला जस्तो छैन । चौबीसै घण्टा जाडोले कठाँगि्रएर
बसेका सर्वसाधारण कम्बल आउने बाटो हेरेर बसिरहेका बेला कम्बल बाँड्ने
स्थानीय प्रशासकलाई चाहिँ केन्द्रको निर्देशन र रकम कहिले आउँछ पत्तो छैन ।
निर्देशन नै पुगेन
मंगलबारको मन्त्रिपरिषद् बैठकपछि
मन्त्रीहरुले कम्बल र दाउराको लागि तुरुन्त रकम निकासा भएको र तत्कालै
बाँड्ने बताएका थिए । तर सरकारको यो निर्णय स्थानीयस्तरसम्म अझै पुगेको छैन
। ‘हामीले सञ्चारमाध्यममार्फत सुनेका हौं, तर स्पष्ट निर्देशन आएको छैन’
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी हरिकृष्ण पौडेलले अनलाइनखबरसित
भन्नुभयो-’केन्द्रबाट निर्देशन नआए पनि हामीले आफ्नो तर्फबाट काम गरिरहेका
छौं ।’
बाँकेका प्रमुख जिल्ला अधिकारी ढुण्डीराज
पोखरेलले पनि केन्द्रबाट निर्देशन नआइसकेको बताउनुभयो । ‘हामीले स्थानीय
संघसंस्थाको सहयोगमा दाउरा र कम्बलको बन्दोबस्त पहिलेदेखि नै गर्दै आएका
छौं’ पोखरेलले अनलाइनखबरसित भन्नुभयो-’केन्द्रबाट रकम आएमा थप सहयोग
पुग्थ्यो, तर कहिले आउँछ पत्तो छैन ।’
दाउरा पाउन पनि मुश्किल
महंगो कम्बलको जोहो गर्न त मुश्किल छ नै ।
बनमा पाइने दाउराको बन्दोबस्त गर्न पनि सजिलो छैन । केन्द्रबाट कम्बल
बाँड्ने निर्देशन नपाएका सुनसरीका प्रमुख जिल्ला अधिकारी लक्ष्मण थापाले
भन्नुभयो-’कम्बलको कुरा छाड्नुस, दाउरा पाउन पनि मुश्किल छ ।’ दाउराको जोहो
गर्न बन कार्यालयमा धाउनुपरेको उहाँले बताउनुभयो । ‘सेना, प्रहरी, रेडक्रस
र स्थानीय संघसंस्थाको सहयोगमा दाउरा तथा कम्बलको बन्दोबस्त पहिलेदेखि नै
हुँदै आएको हो’ उहाँले भन्नुभयो-’केन्द्रबाट निर्देशन र रकम आएपछि थप राहत
पुग्थ्यो, शायद आउँदै होला ।’
केन्द्रमा रकमको जोहो
मंगलबारको मन्त्रिपरिषद् बैठकको
निर्णयअनुसार त यतिबेला तराईका सबै जिल्लाका विपन्न परिवारको घरघरमा कम्बल
पुगिसक्नुपर्ने हो । तर कम्बल किन्ने रकमको जोहो अझै भैसकेको छैन । ‘अर्थ
मन्त्रालयसँग समन्वय भैरहेको छ’ गृह मन्त्रालयका उपसचिव प्रदिप कोइरालाले
भन्नुभयो-’सकभर आजै-बुधबार) रकम निकासा गर्ने तयारी हो, तर भ्याइएला जस्तो
छैन ।’
सबैले पाउलान् ?
सरकारले जाडोबाट पीडित तराईका विपन्नलाई
प्रतिपरिवार एउटा कम्बल वितरण गर्ने बताएको छ । तर, विपन्न कसरी छुट्याउने
भन्ने आधार छैन । पहिलो कुरा त कम्बल किन्न कहाँ कति रकम छुट्याउने भन्ने
टुंगो सरकारले लगाएको छैन । ‘कति रकम जान्छ भन्ने कुरा अहिल्यै भन्न
सकिन्न’ गृहका उपसचिव कोइरालाले भन्नुभयो ।
केन्द्रबाट कहिले र कति आउँछ भन्ने पत्तो
नभएपछि स्थानीय प्रशासनले पनि कस-कसलाई बाँड्ने भन्ने निधो गर्न पाएको छैन ।
‘स्थानीय संघसंस्थाको समन्वयमा हामीले अहिले पनि राहत वितरणको काम
गरिरहेका छौं’ बाँकेका प्रजिअ ढुण्डीराज पोखरेलले भन्नुभयो -’अब केन्द्रबाट
कति रकम आउँछ, त्यसअनुसार फेरि बाँड्छौं ।’
कम्बल नपुग्दै घाम लाग्यो
गृहमन्त्रालयले कहिले रकम निकासा गर्ने,
स्थानीय प्रशासनले त्यो रकम कहिले पाउने, रकम झिकेर कहिले कम्बल किन्ने र
त्यो कम्बल कहिले बाँड्ने अझै पत्तो छैन । तर कम्बलको भर नभएपछि तराईका
बासिन्दालाई घामले भने केही राहत दिएको छ । ‘हप्तौं भएको थियो घाम नलागेको,
आज भने घाम ताप्न पाइएको छ’ भैरहवामा रहेका रुपन्देहीका प्रजिअ हरिकृष्ण
पौडेलले भन्नुभयो ।
हुन त राजधानी र पहाडी क्षेत्रमा जस्तो
तराईमा अझै राम्रोसँग घाम लाग्न सकेको छैन । तर हप्ता दिनदेखि घाम नदेखेका
सर्वसाधारणले बुधबार घाम ताप्न पाए । सुनसरी, नेपालगंज, भैरहवा, नवलपरासी,
चितवन, बाँके, सुर्खेत लगायतका प्रायः सबै तराई क्षेत्रमा बुधबार घाम
लागेको छ । ‘अधिकाँश ठाउँमा बुधबार घाम लागेको छ, अब बिस्तारै मौसम खुल्दै
जान्छ’ मौसम पुवार्नुमान महाशाखाका बरिष्ठ मौसमविद् राजेन्द्र श्रेष्ठले
अनलाइनखबरसित भन्नुभयो ।
केही दिन अझै चिसो हुने
मौसम पूवार्नुमान महाशाखाका अनुसार केही
दिन मौसमको अवस्था यस्तै रहन्छ । दिनहुँ चिसो बढ्दै जाने क्रममा बुधबार
राजधानीको तापक्रम मंगलबारको भन्दा पनि घटेको छ । अरु हिमाली र पहाडी
क्षेत्रको तापक्रम पनि माइनसमा झरेको छ । पूर्वी तराईका जिल्लाहरुमा पनि
तापक्रम घट्ने क्रम जारी छ । तर पश्चिम तराईमा भने मंगलबारको तुलनामा
तापक्रम केही बढेको छ ।
