……………………………………………………………दिल दिवाना
महिला हिंसाविरुद्द
सडकमा स्खलित बिद्रोही मान्छेहरु
किन आनन्दले मुस्कुराउँदै हेरिबस्छ
ममाथिको बलात्कार?
मान्छेहरु यसैगरी साउती मार्छ्न्सडकमा स्खलित बिद्रोही मान्छेहरु
किन आनन्दले मुस्कुराउँदै हेरिबस्छ
ममाथिको बलात्कार?
भर्जिनिटी नतोडिएसम्मन्
सौन्दर्य फक्रन्न मेरो।
डिवोर्स पेपर घुसारेर मैलो कमिजको जेबमा
सवेरै आइपुगेको रिसाहा घाम
लुसुक्क पस्छ झ्यालबाट
लडिबुडि गर्छ ममाथि
र, सुम्सुम्याएर जान्छ मेरो अङ्गप्रत्याङ्ग।
फुत्तै फाल हानेर आएको उत्ताउलो हावाले
तानेर मेरो चोलीको तुना
र, सारीको फेर हतारहतार
खेलाएर जान्छ मलाई उसका खस्रा हत्केलाले
र, छिल्लिछिल्लि काउकुती लगाएर जान्छ।
निर्वस्त्र पार्छ मलाई बगलकै छिमेकी चोसे काँडोले
बेलाबेला फुकाल्न खोज्छ मेरो यौवनको खिप
अल्झाइरहन्छ मेरो जवानी हत्केलामा कतै
बिझाएर आँखामा दुख्ख रसाउँछ
जवर्जस्ती घोचिराख्छ अनि मलाई
र, क्षत् विक्षत् पार्छ मेरो यौनाङ्ग।
कुद्दैकुद्दै आइपुगेको एउटा बेठेगान पुतली
सुत्न आउँछ मेरो काखमा
सुन्तोलाजस्तो चुसिराख्छ मेरो ओठ
अनि स्तनपान गरेर जान्छ मेरो
र, बेपत्ता गायब हुन्छ मेरो खुसीझैं।
कहिलेकाँहि आइपुग्ने एउटा अधबैंसे चरा
हैरान पारेर सोध्छ मलाई मेरो उमेरको नदी
मेरो नितम्बमथि उफ्रेर बस्छ तम्मासले
आउँछ बेसुरा प्रणयगीत् जड्याँहालेझैँ
र, खौं हानेर जान्छ मेरो चुल्ठोमा।
कस्तरी उक्लिन्छ भने नि मात्तिएको यो भमरो
छातीमाथि मेरो निसास्सिनेगरी
टोकेर जान्छ घाउ बनाएर
ओठ, गाला र मेरो छाती।
केही पागल कीराहरू
ओभरएक्साइटेट चुम्बन दिएर मलाई
आत्महत्या गर्छ प्रथमपटक
'इन्सेक्ट किलर' अभियोगमा निरश्त्र मलाई
बेकसुर मृत्युदण्ड दिइन्छ यहाँ।
र, ए मान्छे
किन खिचिराखेको तिमीले
मेरो यो नीलो फिल्म
र, हेरिराखेका छौ तिमी टोह्लाएर विस्मयसाथ
संक्रमित वेश्याझैं मलाई?
कैद गरेर मान्छे अचेल मलाई
गमलामा
फूलदानीमा
शिरमा
सम्भोग गरिराख्छ मान्छे आँखाले मलाई
र लुटिनुपर्छ कुनै कलगर्लझैँ।
मान्छेहरु छुरा धस्छन् फूललाई
र,झुण्ड्याउँछ्न् उनेर मेरो मुटुकलेजो
बलात्कृत हुनुछ फेरि
कुनै नेताको बक्तब्यमा
बिहाबर्तनमा
सभासम्मेलनमा
र, मृत्युभोजमा!
मेरो मोलमोलाइ सुरु हुन्छ मन्दिर अघि
तयारी गर्नुछ मैले हरेक बिहान
चढाउन भर्जिन प्रसाद मेरो यौवनको
लुटाएर आफैंलाई कुनै देउताबाट।
कुनै गेस्टहाउसको चिसो कोठाबाट सहरको
बसस्टेण्ड
रत्नपार्क
ठमेल
र, कुनै सांघुरो गल्लीबाट
दगुर्दै आइपुगेको आँधीहुरी
नपग्लुन्जेल मैथुन गरेर मलाई
बोकाएर जान्छ एउटा बेवारिश गर्भ
र, उखेल्न खोज्छ मेरो पाठेगर।
एकझर पानीका चिसा औँलाहरूले
छोएर जान्छ मेरो कौमर्य बेलगाम
निमोनियाले लम्पसार मसंग
जिस्किन आइपुग्छ इन्द्रेनी।
आमालाई नसोधी भागेर आएको
एउटा तन्नेरी बादल
समाएर राख्छ मलाई आफ्नो ओभरकोटभित्र
हानेर फर्किन्छ मलाई हिउँको थुङ्गाले।
कत्ति भग्छु म दगुरिदगुरी
कत्ति लुक्छु म आग्लो मारेर घरभित्र
लखेटेर हैरान पार्छ मलाई उसको छायाँ
थकित् थकित्
र, गलित् गलित् म
गार्हो छ मलाई जोगिनै बसन्तसंग।
अत्ति भो यो सहरमा जोगिन त
बोक्यौँ प्लेकार्ड र ब्यानर्
उठायौँ हतियार
ओर्लियौँ एक जुलुस बिरोध सडकमा
पसेर कतै फूलका जुलुसबीच
लुटिएछन् केही चम्पाचमेली
केही मखमलीसयपत्री
र, केही लिल्लीरोजीहरू
सुरक्षाकर्मीबाट
काकाबाबाट
आफ्नैआफ्नैबाट
र, लुटिएछन् केही कुमारी फूलहरु
न्यायालयमा
सिंहदरबारमा
र, बालुवाटारमा।
महिला हिंसाविरुद्द
सडकमा स्खलित बिद्रोही मान्छेहरु
किन आनन्दले मुस्कुराउँदै हेरिबस्छ
ममाथिको बलात्कार?
काठमान्डु युनिवर्सिटी
Dilu Sijali
Kathmandu, Nepal
