प्रधानमन्त्रीलाई डेकेन्द्र थापाको खुलापत्र


…………………………………………………………दिल दिवाना
सम्माननीय प्रधानमन्त्रीज्यु,

तपाई किन भन्न सक्नुहुन्न
तपाईको जनयुद्दको ईच्छापत्रमा मलाई
मेरो मृत्युको तर्साउने औंठाछाप
ठ्याम्ठ्याम् ठोक्न लगाएको
एउटा रहरलाग्दो मेरो मृत्युकथा!

किन सक्नुहुन्न भन्न भन्नुस् त प्रधानमन्त्रीज्यु?

किन भन्न सक्नुहुन्न तपाई,
वर्षभरि जोरजाम गरेको बाको खुजुरा रगतपसिना
आमाको आधाआधि भोक र शोक
आफूले खोजेजत्ति चन्दाको मनग्गे बिगो नभरिएपछि
बेपत्ता पारेको हुँ भनेर मेरा चेतनाहरू
र, भाँचिदिएको हुँ भनेर मेरो आँसुको नलिहाड?

पाठशालाबाट छुटाएर कोपिलाजस्ता भाइबैनीहरुलाई
चलाउन पठाइनँ भनेर किवोर्डजसरी बन्दुकका टृगर
लगाउन पठाइनँ भनेर हतियारका पोटुकीपाइजामा
र, खेल्न पठाइनँ भनेर बारुदका फूल भाइबैनीहरुलाई
मेरो निर्भयको कठालो समातेर बेस्सरी
उधोंमुन्टो पासो लाएर मेरो नडगेको स्वाभिमानमाथि अनि
दुराचारको सुम्लो पाइप र स्वाम्स्वामी सिस्नोपानी लगाएको
किन भन्नुहुन्न हँ प्रधानमन्त्रीज्यु?

बरू भन्नुस् न प्रधानमन्त्रीज्यु,
उखेल्न पाइनँ भनेर झोलुङ्गे पुलका सहस्र आँखाहरू
छिनाल्न पाइनँ भनेर गोर्खाली खुकुरीले खानेपानीको गर्दन
धस्साउन पाइनँ भनेर छुरा, छातीमा कुनै देउता र मन्दिरको
अङगभङ्ग पार्न पाइनँ भनेर लम्पसार राजमार्ग
ग्याँसच्याम्बरजसरी पड्काउन पाइनँ भनेर स्वास्थचौकीहरू
गाल्न पाइनँ भनेर पाठशालाहरुका बोसों
र, चोइटाउन नपाएको आलै रिसम मेरो कलमको मेरुदण्ड
गिन्ती गरेको हुँ भनेर मेरो स्वविवेकको करङ
र, उतारेर सुकुटी बनाएको हुँ भनेर मेरो वैभवको हाडछाला
किन भन्न सक्नुहुन्न प्रधानमन्त्रीज्यु, किन?

आँगनमा खेलिराखेका आरुका फूलजस्तै कुमारी सपनाहरूमाथि
ज्यास्तीले सामुहिक बलात्कार गरेर बिद्रोहको
भयातङ्क गर्भाधारण गर्न नपाएसी गाउँमा
आमाको काखमा खित्खिताइराखेका दुधेबालखजस्तै एउटा भविष्यमाथि
मनलाग्दी सिङ्गौरी खेलेर रगतपच्छे आङमा कलिलो समयको
खेलाइखेलाइ मृत्युको थ्री डी हेर्ने बानी परेको तपाईलाई
मेरो मृत्युभोजमा
उमालेर मेरो ज्याद्रो गिदीको सुप खान मन लागेको कुरा
किन भन्न सक्नुहुन्न प्रधानमन्त्रीज्यु?
भन्नुस् न खुलेआम जनतामाझ प्रधानमन्त्रीज्यु!

भाग माग्न जाँदा पाउ परेर नरमनरमसंग
लात्ता हानेर बिच्काएपछि जङ्गेले अत्ति सार्है
मिथ्या राजावादको खास्टो ओढाउन मिल्छ् ममाथि?
टाङमुनि कौशल लुकाउँदै कुलेलम भागेर युद्दमैदानबाट
फोगटमा मेरो निधारमा सुराकीको ट्याग् मार्न मिल्छ प्रधानमन्त्रीज्यु?
एउटा परिवारको हाँसोखुसीको मक्किइसकेको पुरानु पन्तुरो
घिसार्दै प्रताडनाले मिल्काउन मिल्छ अल्गो पहाडबाट
र, पुर्न मिल्छ खाल्डो खनी धुकधुकी बाँकी भको कलमलाई कतै?
भन्नुस् न प्रधानमन्त्रीज्यु,
मिल्छ कि मिल्दैन?

किन भन्न सक्नुहुन्न प्रधानमन्त्रीज्यु तपाईं,
सरखार नाइके हो भनेर
ज्यानमाराहरूका,
डाँकागुन्डाहरूका,
तस्करीहरूका?
र, लुकाएर एकपछि अर्को गुढहरूका चिर्कटो हिसिलाको पेटिकोटमा
कोचिराख्नुहुन्छ मुस्ताङले बोकी नभ्याउने झुठा दस्तावेजका गुन्टाहरू
पिण्ड दिएर देशप्रतिको आफ्नो अगतिलो जिम्मेवारी र विश्वास तपाईं
बिरालोलाई दुध हेर्न लगाएजस्तो भाछ कि छैन भन्नुस् त प्रधानमन्त्रीज्यु देश अचेल?

पाठशालामा भविष्य कोरिराखेका भाइबैनीहरुमाथि
रास्टृय गान गाइराखेका नानीहरूका ओठ् आँखामाथि
कक्षाकोठामा मेरो देश घोकाइराखेका मास्टरहरूमाथि
खेतमा दुख्खको कुलेसो खोलिराखेका बाआमाहरूमाथि
बन्दले अस्पताल कुरिराखेका बिरामी देशमाथि
बरखीको मेलो लगाइराखेकी बुहारीहरुमाथि
काखमा खेलिराखेका गुनकेशरी फूलका थुङ्गाहरूमाथि
घुच्चुक भत्किने गरी हतियार चलाउनु जथाभावी
गोली हानेर खसाल्न नपाएसी चराहरूका गीतजसरी मान्छेहरुलाई
मनलाग्दी गरिहिँड्नु देशमा छाडा र अटेरी साँढेझैँ
र, हातगोडा बाँधेर बन्धक कानुनमाथि देशको
अधिकार मिच्दै अर्काको सुङ्गुरजस्तै उत्ताउलिएर उफृहिँड्नु
लोकतन्त्रको बटमलाइन हो भनेर कल्ले भन्यो प्रधानमन्त्रीज्यु तपाईलाई?
भन्नुस् त कल्ले भन्यो?

देशभन्दा ठूलो
स्वाभिमानभन्दा ठूलो
माटोभन्दा ठूलो
र, कानुनभन्दा ठूलो
प्रधानमन्त्री हुनै सक्तैन प्रधानमन्त्रीज्यु
अहं:, किमार्थ हुन सक्तैन प्रधानमन्त्रीज्यु!!!
तपाईंको,
डेकेन्द्रराज थापा
काठमान्डु युनिवर्सिटी

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......