२१ पुस, काठमाडौं । राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज मच्छिन्द्र र सरस्वती क्लब भिड्दैछन् ।त्रिपुरेश्वरस्थित दशरथ रंशशालामा दिउँसो साढे २ बजेपछि हुने खेलमा मच्छिन्द्र सरस्वतीमाथि जित हात पार्दै उपाधी होड कायमै राख्ने प्रयासमा हुनेछ । सरस्वतीमाथि जित हात पारे मच्छिन्द्रले लिग लिडर थ्रीस्टारसँग अंक बाराबरी गर्नेछ ।
१० खेलबाट २३ अंक बटुलेको मछिन्द्र अंकतालिकाको तेस्रो स्थानमा छ भने लिग लिडर थ्रीस्टारको ११ खेलबाट २६ अंक छ । समान खेलबाट ११ अंकका साथ सरस्बति १२ औ स्थानमा छ ।
त्यसअघि मध्याह्न साढे १२ बजेपछि हुने खेलमा शसस्त्र प्रहरी बल एपिएफ र सङ्कटा क्लब आमने सामने हुनेछन् । खेलमा दुबै टोली जितको खोजीमा हुने छन् । १० खेलबाट १६ अंक जोडेको संकटा आठौ स्थानमा छ भने समान खेल खेलेको एपीएफ ९ अंकका साथ रेलिगेशन जोनमा छ ।
