श्याम भट्ट,
काठमाडौं, माघ ४ - प्रभातफेरी (मर्निङवाक) स्वस्थ र तन्दुरुस्त शरीर एवं
र्स्फूत मनका लागि अचुक विधि हो तर धेरै चिसो याममा यही ज्यानका लागि
खतरनाक साबित हुन सक्छ। चिसोका कारण धुलोका कण र विषाक्त पदार्थ जमिनको
सतहबाट धेरै माथिसम्म जान सक्दैन। मानव उचाइकै हाराहारी रहेको विषाक्त
हावाले श्वासप्रश्वासमार्फत अनेक समस्या निम्त्याउने चिकित्सक बताउँछन्।वातवरणविद भुषण तुलाधरका अनुसार वायुमण्डलमा प्रदूषण खासगरी सवारीसाधनको धुवाँ फाल्ने साइलेन्सर रहेको सतहबाटै सुरु हुन्छ जुन भूसतहभन्दा एक फिटमात्र माथि हुन्छ। उपत्यकाको बनावटका कारण प्रदूषणको नकारात्मक अझ बढी देखिन्छ ।
'उपत्यकामा हिँड्दा जमिनभन्दा एक फिटमाथि प्रदूषित वायु छ भनेर सजग भएर हिँड्नु नै बुद्धिमानी हुन्छ', उनले भने। विगतको वायु प्रदूषणको तथ्यांक हेर्दा जनवरी महिना सर्वाधिक वायु प्रदूषण हुने महिना हो।
चिसोमा यहाँ उत्पादन हुने प्रदूषण लामो समयसम्म भूसतहतिरै रहने हुँदा यहाँ मर्निङवाकमा निस्कँदा पनि मास्क लगाएर निस्कन उचित हुने वातावरणविदले औंल्याएका छन्। चिसो मौसममा उपत्यका प्रदूषणको खानी बन्ने गरेकाले यहाँका बासिन्दालाई सजग रहन उनीहरूको सुझाव छ।
सामान्य मौसममा उपत्यका वरिपरिका फुल्चोकी, चन्द्रागिरि र शिवपुरी पहाड आँखा नजिकै देखिन्छन्। खासगरी बर्खामा त झन् त्यहाँका बोटबिरुवाको हरियाली लोभलाग्दो देखिन्छ।
हिउँदका बेला भने वरिपरिका पहाडको यो हरियाली र सुन्दरतालाई यहाँको आकाशमा हुने प्रदूषणले धमिलो पारेका हुन्छन्। अहिले त स्वयम्भूबाट शहर हेर्दा पनि धुम्म देखिन्छ। वातावरणविद तोरण शर्मा भन्छन्, 'चिसो मौसममा आँखाले वरिपरि हेर्दा वरिपरिका पहाडहरू धमिला देखिन्छन् भने त्यो उपत्यकामा प्रदूषण भरिएको संकेत हो।'
तुलाधरका अनुसार 'चिसो मौसममा धर्ती पनि चिसिएको हुनु र माथिबाट समेत हुस्सु छाउनु र वायुको ओसिलोपनाका कारण यहाँको प्रदूषण दिउँसोको हावा नचलुन्जेल वरिपरिबाट घेरिएका पहाडबाट बाहिर जानै पाउँदैन।'
चिसो मौसममा उपत्यकामा प्रदूषणका कारण यहाँ उड्ने धुलो र सवारीसाधनले फाल्ने धुवाँपछि सबैभन्दा ठूला कारण इँटाभट्टाले निकाल्ने धुवाँ हो। भट्टाहरू बर्खामा पानीका कारण बन्द हुन्छन् भने यही बेला सबै चल्ने गरेका छन्।
वरिष्ठ छाती रोगविशेषज्ञ दीर्घसिंह बम भन्छन्, 'चिसोमा यहाँको वायु श्वासप्रश्वासयोग्य नै रहन्न, त्यसैले मास्क लगाएर हिँड्नु सर्वोत्तम उपाय हो।'
धुलो र धुवाँले प्रतिवर्ष ब्रोङकाइटिस, दम, छाती रोग, रूघाखोकी, एलर्जीलगायत श्वासप्रश्वाससम्बन्धी रोगका बिरामी बढाउँदै लगेको छ। क्षयरोग र फोक्सोका अन्य रोगसँगै निमोनियामा पनि यहाँको वायुले संक्रमण गरिरहेकाले काठमाडौंमा श्वासप्रश्वासका बिरामी अस्वाभावि
