भक्तपुर, माघ १४- एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले आगामी जेठ १४ गतेभित्र संविधान सभाको निर्वाचन गर्न सबै दलहरू सहमत भए एमाओवादी सरकार छोड्न तयार रहेको बताएका छन्।
एमाओवादीको पाँचौ भक्तपुर जिल्ला अधिवेशनको शनिबार उद्घाटन गर्दै उनले नेपाली कांग्रेस, एमालेलाई प्रधानमन्त्रीको लागि स्वतन्त्र उम्मेदवार दिन आग्रहसमेत गरे। अध्यक्ष दाहालले भने, "जेठ १४ गतेभित्र जसरी पनि संविधानसभाको निर्वाचन गर्नुपर्छ, यसका लागि एमाओवादी सरकार छोड्न तयार छ, कांग्रेस, एमाले स्वतन्त्र उम्मेदवारको नाम दिनुहोस्, हामी सहमतिका लागि तयार छौं छलफलमा आउनुहोस्।"
पूर्वराजा ज्ञानेन्द्रको मूर्खताले देशमा लोकतन्त्र आएको दाबी गर्दै अध्यक्ष दाहालले ज्ञानेन्द्रको पाउमा भेटी चढाउँदा तथास्तु नभनेपछि कांग्रेस, एमाले १२ बुँदे समझदारीमा आएको दाबी गरे।
कार्यक्रममा प्रधानमन्त्री तथा एमाओवादीका उपाध्यक्ष बाबुराम भट्टराईले क्रान्ति अधुरो रहेकाले यसलाई पूरा गर्न संविधान सभाको निर्वाचन गर्न अति आवश्यक भएको उल्लेख गर्दै संविधान सभा निर्वाचनका लागि आफू हदैसम्म लचकता अपनाउन तयार रहेको बताए।
संविधान सभाको निर्वाचनबाट मात्रै निकास निस्कने दाबी गर्दै उनले विपक्षी दलहरूलाई निषेधको राजनीति नगर्न आग्रह गरे। उनले भने, "द्वन्द्वकालमा धेरैको ज्यान गएको छ, एकाध घटनालाई टिपेर विपक्षीहरूद्वारा शान्ति प्रक्रिया बिथोल्ने प्रयास भइरहेको छ, यसतर्फ सबै सचेत हुनुपर्छ।"
उनले पुरानै फौज्दारी न्याय प्रणालीमार्फत् मुद्दा चलाउनुको सट्टा सङ्क्रमणकालीन न्याय प्रणालीमार्फत् दोषीलाई कारबाही हुनुपर्छ भन्ने आफ्नो मान्यता रहेको उल्लेख गरे।
अर्का उपाध्यक्ष एवं उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले बाह्य शक्तिको चलखेलका कारण राजनीतिक गतिरोध लम्बिएको दाबी गर्दै नेपालका पार्टी र शक्ति केन्द्रहरूमा बाहिरको मुख ताक्ने प्रवृत्ति बढ्दै गएकाले समस्या आएको बताए।
उनले भने, "देशले निकास नपाउनुमा बाह्य शक्ति जिम्मेवार छ, नेपाली जनता र नेपालले नै देशको निर्णय र फैसला गर्न सक्छन् भन्ने कुरालाई आत्मसात गर्न नसकेसम्म देशले निकास पाउँदैन।"
यसअघि नेपाली कांग्रेस, एमालेलगायतका आन्दोलनरत विपक्षी दलले एमाओवादी अध्यक्ष दाहाल तथा प्रधानमन्त्री भट्टराईलाई कालोझण्डा प्रर्दशन तथा निषेध गर्न अरनिको राजमार्ग खण्डअन्तर्गत सिर्जना नगरमा गरेको प्रर्दशनमा प्रहरीले लाठीचार्ज गरेको थियो।
लाठीचार्जबाट नेपाली कांग्रेस कार्यकर्ता दुर्लभ थापा, पूर्ण बिसुङ्खे, नागरिक दैनिकका फोटो पत्रकार दिपेश श्रेष्ठलगायत पाँच जना घाइते भएका छन्। रासस
