२५ पुस, नुवाकोट । नेकपा एमालेका नेता
प्रदिप नेपालले प्रधानमन्त्री डा. बाबुराम भट्टराई हिटलर जस्तै बन्न लागेको
भन्दै सरकार हटाउन आन्दोलनको बिकल्प नरहेको वताउनुभएको छ ।
प्रचण्ड र बाबुरामले ढाडमा टेकेर टाउकोमा
हान्ने उद्देश्य लिएको र सो उद्देश्य प्राप्त गरी हिटलरको शैलीले देशमा
शासनसत्ता सञ्चालन गरिरहेको भन्दै उहाँले अब नेपाली जनता हेरेर नबस्ने
चेतावनी दिनुभयो ।
एमाओवादी नेतृत्वको वर्तमान सरकारले उग्रवामपन्थी
निरंकुशता हावी गर्दै सञ्चार माध्यमलगायत विभिन्न क्षेत्रहरुमा आक्रमण सुरु
गरिसकेको भन्दै उहाँले सरकार हटाउन दलीय आन्दोलन आवश्यक रहेको बताउनु भयो ।
प्रेस चौतारी नुवाकोटद्वारा वुधबार
विदुरमा आयोजित पत्रकार सम्मेलनमा एमाले नेता नेपालले वर्तमान सरकार माघ १९
मा निरंकुश कदम चालेको तत्कालीन राजा ज्ञानेन्द्र जस्तै अर्काे
ज्ञानेन्द्र भएको वताउनुभयो । उहाँले पूर्व राजा ज्ञानेन्द्र दक्षिणका राजा
र वर्तमान सरकारको नेतृत्व गरिरहेको माओवादी उत्तरतर्फको राजा भएको भन्दै
उहाँले आन्दोलनमार्फत राजा फ्याँक्न जरुरी रहेको वताउनुभयो । डा. भट्टराईको
सरकार उग्रवामपन्थी निरंकुशताको नेतृत्व मात्र भएको कारण कुनै पनि सहमति
हुन नसक्ने दावी गर्दै नेता नेपालले सहमतिका लागि दलहरुबीच भएको भनिएका
वार्ताहरु नाटकमात्र भएको बताउनु भयो ।
