८ माघ, काठमाण्डौ । एकजना खरदारले अख्तियार दुरुपयोग अनुसन्धान आयोग नै
किन्छु भन्यो भने त्यो रमाइलो ठट्टामात्र हुनसक्छ । तर स्थानीय बिकाश
मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ
भने मन्त्रालय मातहतका एक खरदारको यस्तै धम्की सुनेर तीनछक परेका छन् ।
धुनषा जिल्ला बिकाश समितिको सहलेखापालको रुपमा रहेका खरिदार जीवनाथ
चौधरीले अख्तियार किन्छु भनेर ठाडै हाँकमात्र दिएनन, मन्त्रालयले कब्जा
गरेका भ्रष्टाचारसम्बन्धी कागजात अख्तियारबाटै गायव पारिदिन्छु भनेर सार्वजनिकरुपमै चुनौती दिए । एक खरिदारको यस्तो हुङ्कार सुनेपछि यतिखेर मन्त्री श्रेष्ठ जीवनाथ र उनको धन्दाबारे सोधीखोजीमा लागेको सोमबारको साँघु साप्ताहिकले छापेको छ ।
एक बर्षमै एक अर्बभन्दा बढि भ्रष्टाचार भएको प्रमाण भेटिएपछि सवै कागजात कब्जा गरेर खरदार चौधरीलाई ठाउँको ठाउँ निलम्बन गरेका थिए । ती सवै कागजात अहिले अख्तियार लगिसकेको छ । तर, कागजात लगेको लामोसमयसम्म पनि अख्तियार मुद्दा नचलाउनु र खरदार चौधरीले अख्तियारमा सेटिङ मिलाइसकेको छु भन्नुले आशंका जन्माएको छ ।
प्रमुख आयुक्तको जिम्मेवारी लिएका सचिव गणेशराज जोशीलाई जानकारी नै नदिई तलैबाट सेटिङ मिलाउने क्रम सुरु भएपछि मन्त्रालयका उच्च अधिकारीहरु नै चकित परेका छन् । जीवनाथको आनीबानी थाहा पाएकाहरुले उनले बिगतजस्तै अहिले पनि सेटिङ मिलाइसकेको अडकल काटिरहेका छन् । बिगत ५ बर्षदेखि अख्तियारले उनीबिरुद्ध फाइल उठाउँदै गुपचुपरुपमा बन्द गर्दै आइरहेको छ ।
धुनषामा जुनसुकै एलडीओ गए पनि जीवनाथसँग आत्मसमर्पण गर्ने वा भौतिक आक्रमणको सिकार हुने गरेको बिबरण मन्त्रालयमा छ । भ्रष्टाचारको बिरोध गर्दा हालसम्म तीन जनाले ज्यान गुमाइसकेका छन भने माओवादी नेता रामचन्द्र मण्डल बालबाल बँचेका छन् ।
हिन्दी फिल्मका खलनायकजस्तै छवि बनाएका जीवनाथले जनकपुरका सवै दलका नेताहरुलाई किनिसकेका कारण कसैले पनि उनीविरुद्ध बोल्न सक्दैनन् । उनको बिरोध गर्दा वाईसिएलका जिल्ला अध्यक्ष राकेश नेपालीको हत्या भयो । यस्तै पत्रकार राजेश्वर नेपालीका छोरा रविन्द्र, जो पेशाले पत्रकार थिए, उनको कर्तुतबारे लेख्दा ज्यान गुमाउनुपर्यो । आफ्नो बिरोधमा बोल्ने र अभियान चलाउनेलाई हत्या गराउने र त्यसको जिम्मेवारी भूमिगत समूहबाट लिन लगाउने उनको परिचय नै बनिसकेको छ ।
