थापाथलीमा सधैं बाँदर-मान्छे द्वन्द्व


उपेन्द्र लामिछाने, काठमाडौं, माघ १२ - बाँदर खानेकुरा ताक्ने, पसले गुलेली। मान्छे लम्कने, बाँदर झम्टने। थापाथली चोकमा मान्छे र बाँदरबीच द्वन्द्वको यस्तो दृश्य दिनैजसो देखिन्छ। 
थापाथली पुलदेखि कालमोचनस्थित टुकुचा पुलसम्म करिब दुई सय मिटर दूरीमा वर्षौंदेखि जारी यो द्वन्द्वको सिकार भने बढी मात्रामा बटुवा भएका छन्। जसलाई यसबारे थाहै हुन्न। उनीहरूले बोकेको फलफूल र खानेकुरा बाँदरले लुट्छन्। लुट्न नसके कोपर्छन्। 

‘दायाँ-बायाँ आँखा लगायो कि बाँदर आइहाल्छ,' थापाथली चोकका चिया पसले अमरनाथ योगीले भने, ‘एक हातमा गुलेली र अर्को हातमा लट्ठी लिएर पसल कुर्नुपर्छ।' एक वर्षअघि बाँदरको आक्रमणमा घाइते भएका योगीले यहाँका बाँदरले खानेकुरा खोस्ने र नसके टोक्ने गरेको सुनाए।
योगीका दुई सन्तानले पनि बाँदरको आक्रमणमा झेलिसकेका छन्। यहाँ कुनै यस्ता पसले छैनन्, जसलाई बाँदरले आक्रमण नगरेको होस्। ‘बनाउँदै गरेको पान लैजान्छ,' आलम पान भण्डारका उकेश आलम भन्छन्, ‘मिठो मसला खाएर पातचाहिँ फ्याँकिदिन्छ।'
आक्रमणविरुद्ध उजुरी गर्ने निकाय हो, प्रहरी। तर यहाँ त ट्राफिक प्रहरी नै बाँदरपीडित छन्। ‘बाँदर कार्यालयभित्र छिरेर कागजपत्र च्यात्नसमेत भ्याउँछन्,' महानगरीय ट्राफिक प्रहरी कार्यालय थापाथलीकी सई सतिकुमारी घिसिङले भनिन्, ‘हामी आफैं गुलेली ताकेर तर्साउन बाध्य छांै।'
अचम्मैका छन् यहाँका बाँदर। ६ महिनाअघि सडक दुर्घटनामा मोटरले बाँदर मारेपछि सबै बाँदर सडकमा आएर ट्राफिक जाम नै गराएको पनि घिसिङले सुनाइन्। सवारीकै समस्या प्रहरीलाई थेगिनसक्नु छ। बाँदरले जथाभावी ‘सडक क्रस' गर्दा झन समस्या थपिन्छ।
‘वडा कार्यालयलाई ‘गाई र भुस्याहा कुकुर नियन्त्रण गर्ने जिम्मेवारी छ तर बाँदरबारे के गर्ने भन्ने छैन,' ११ नम्बर वडा कार्यालयकी सचिव अम्बिका खड्का रनभुल्लमा छिन्, ‘कहिलेकाहीं त कार्यालय आयपुग्दा कुर्सीमा बाँदर पो बसेका हुन्छन्।'
गुठी कार्यालयबाट यी बाँदरलाई पहिले मकै तथा गहँुको व्यवस्था गरिन्थो। त्यो व्यवस्था हटेकाले पनि यहाँका बाँदर उग्र बनेको स्थानीय दाबी गर्छन्। गुठी संस्थान, काठमाडांैका शाखा प्रमुख जयप्रसाद रेग्मी भने यसबारे अनभिज्ञता प्रकट गर्छन्।
स्थानीय राममन्दिरका पूर्व मठाधीश अर्जुन दासका अनुसार यहाँ दुई सय हाराहारीमा बाँदर छन्। ८० वर्षे दासले आफूले सुनेको भन्दै यहाँका बाँदरका चर्तिकला बताए। ‘मोहनसमशेर घोडा चढेर यो बाटो हुँदै सिहंदरबार लाग्दा बाँदरले उनलाई ओरालेर आफै घोडा चढेथ्यो रे,' उनले हाँस्दै अगाडि भने, ‘त्यसपछि सिपाही लगाएर बाँदरलाई तुरुन्तै उपत्यका कटाए। तर सिपाही राजधानी फर्कनुअगावै बाँदर बासस्थान आइसकेको थियो।'
बाँदरलाई गाली गर्नेमात्र होइन, माया गर्नेको पनि जमातै छ। ‘यसले दुःख दिन्छ,' नजिकैकी पसले संगीता थापा भन्छिन्, ‘तर उसले पनि पेट भर्नैका लागि यसो गरेको हो। खानेकुरा दिनुपर्यो नि त!'

तपाइको साथीहरुले like गरिसक्नु भो तपाइले नि ?छैन भने कृपया........

यो पोस्ट बारे फेसबुकमा नै केही टिप्पणी दिनुहोस् ......